गृहमन्त्रीका भाई धरौटीमा रिहा, अन्य अभियुक्त पुर्पक्षका लागि जेल चलान

डिसी नेपाल
१ असोज २०७६ १९:१५

काठमाडौं। संगठित अपराधका आरोपी गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाई नरेश थापालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जेलमा रहेका हत्या आरोपी समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका ७ जनामध्ये थापालाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने अन्यलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। सो मुद्दामा सोमबारबाट थुनछेक बहस भएको थियो भने बुधबार बहस सकिएको थियो।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।

प्रहरी जवान भट्टराईले जेलमा रहेका गुन्डा नाइके बस्नेतलाई पटकपटक फोन गर्नका लागि आफ्नो मोबाइल दिएको आरोप लागेको थियो।

त्यस्तै पक्राउ परेका गृहमन्त्री थापाका भाइ नरेशले आफूले समीरमानलाई जेलमा भेटेको र व्यवसायीलाई धम्क्याएर रकम असुल्न काममा संलग्न भएको आरोप लागेको थियो।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन्।

जेलमा बसकै बेला उनले आफ्ना केटाहरु प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ। यसरी रकम उठाउने गिरोहसँग गृहमन्त्री थापाका भाइको कनेक्सन देखिएपछि उनी पनि पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *