हङ्‌कङ तनावः प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो

डिसी नेपाल
१४ असोज २०७६ २०:२२

बिबिसी । चीनले कम्युनिस्ट शासन स्थापना भएको ७० औँ वर्षगाँठको उत्सव मनाउँदै गर्दा हङ्‌कङमा भने प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका छन्।

पन्ध्रजना मानिसलाई अस्पताल लगिएको छ र कम्तीमा एकजना गम्भीर अवस्थामा छन्। विवरणहरूमा जनाइए अनुसार एकजना प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लट्ठीले प्रहार गरेपछि प्रहरीले उनको छातीमा गोली हानेको छ।

छातीमा गोली लागेका १८ वर्षीय युवकका सहपाठीले बीबीसीलाई बताए अनुसार उनीहरूका शिक्षकले घटनाबारे जानकारी गराएका हुन्।

तागत

बेइजिङमा भव्य परेडसहित उत्सव मनाएपश्चात् हङ्‌कङमा यी घटना भएका हुन्। सडकमा प्रदर्शन गर्न रोकिएको भए पनि हङकङका प्रदर्शनकारीले बेइजिङको शासनको विरोध जनाउन आफूहरू उत्रिने वाचा गरेका थिए।

चीनका राष्ट्रपति सी जिनपिङले चीनको प्रगतिलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको ७० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहलाई बेइजिङस्थित तियानआन्मेन चोकबाट सम्बोधन गर्दे उनले त्यसो भनेका हुन्।

माओत्सेतुङले लगाउने गरेको जस्तै पोशाक लगाएर उपस्थित राष्ट्रपति सी ले १५ हजार सेना तथा अत्याधुनिक सैन्य सामग्रीको प्रदर्शन गरिएको परेड अवलोकन गरेका थिए।

बेइजिङको कार्यक्रममा राष्ट्रपति सीको उपस्थितिमा वायुसेनाको विमानहरू उडाइएको थियो। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। सन् १९९७ देखि नै हङ्‌कङ चीनको अङ्ग भएको थियो।

तनाव

तर एक देश दुई प्रणाली भनिने नीति अन्तर्गत उसको आफ्नै कानुनी प्रणाली र सरकार छ। ७० औँ वर्षगाँठको सँघारमा गरिएको सम्बोधनमा राष्ट्रपति सीले सो नीतिको पूर्ण र इमानदारीपूर्वक पालना गर्ने वाचा गरेका थिए।

निकै योजनाबद्ध ढङ्गले आयोजित सो समारोहमा राष्ट्रिय एकताको छवि प्रस्तुत गरिएको थियो। तर त्यहाँ गत ७० वर्षमा चिनियाँ कम्युनिस्ट नेताहरूले बेहोरेका कठिनाइको कुनै छनक दिइएन।

प्रदर्शनको तनावपूर्ण दिनपछि युरोपेली सङ्घ ईयूले ‘तनाव मत्थर पार्न र संयमित हुन’ आग्रह गरेको छ।

ईयूकी प्रवक्ताले भनेकी छन्, ‘हङ्‌कङमा तनाव र हिंसा जारी रहेको सन्दर्भमा संवाद गर्नु, तनाव मत्थर पार्नु र संयमित हुनु मात्र विकल्प रहेकोमा युरोपेली सङ्घ जोड दिन्छ।’

हालैका वर्षहरूमा हङ्‌कङको समाज र राजनीतिमा बेइजिङको प्रभाव बढ्दै गएकोप्रति त्यहाँ विरोध बढिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *