इराकी प्रधानमन्त्रीद्वारा हिंसात्मक प्रदर्शन रोक्न आग्रह

डिसी नेपाल
१७ असोज २०७६ २३:२२

बग्दाद (रासस/सिन्ह्वा) । इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले तीन दिनदेखि मुलुकभर जारी हिंसात्मक प्रदर्शन रोक्न प्रदर्शनकारीलाई शुक्रबार आग्रह गरेका छन्।

बेरोजगारी, सरकारी भ्रष्टाचार र आधारभूत सेवाको अभाव रहेको भन्दै इराकका प्रमुख शहर बजारमा तीन दिनदेखि हिंसात्मक प्रदर्शन जारी छन्।

प्रदर्शनलाई नियन्त्रणमा लिनेक्रममा कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अब्दुल माहदीले प्रदर्शनका कारण आम सर्वसाधारणको मृत्यु भएकामा दुःख लागेको र शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाउन एवं भडकाउन केही तत्वले भूमिका खेलेकामा खेद छ भने।

प्रधानमन्त्री माहदीले भने, ‘तपाइँहरुको मागका बारेमा सरकारलाई राम्रोसँग थाहा छ। हामी सबै सम्भव उपायद्वारा जनताले उठाएका मागलाई सम्बोधन गर्न तत्पर छौं।’

उनले अति कमजोर वर्गका परिवारका लागि राहत कार्यक्रम ल्याउने वचनवद्धता प्रकट गरे।
प्रदर्शनका कारण एक हजार ६४८ जना घाइते भएका छन्।

इराकी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार इराकका बग्दाद र दक्षिणी इराकी शहरहरुमा भएका प्रदर्शनमा ३८ जनाको मृत्यु भएको पाइएको छ जसमा दुई जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ।

प्रदर्शनलाई नियन्त्रणमा ल्याउने क्रममा ३६० जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।अधिकांश घाइतेहरु उपचार पछि घर फर्केका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *