नेपाली फुटवल टोली अष्ट्रेलियाको राजधानी क्यानबेरामा

डिसी नेपाल
२२ असोज २०७६ १२:२४

क्यानबेरा । फिफा विश्वकप-२०२२ को एसिया समूहको छनोटचरणको खेलअन्तर्गत नेपाल र अष्ट्रेलियाबीचको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली मंगलबार  अष्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेको छ। गैरआवासीय नेपाली संघ अष्ट्रेलिया र अष्ट्रेलियाली नेपाली फुटबल संघको अग्रसरतामा नेपाली टोली गत ३ अक्टोबरमा सिड्नी आएको थियो।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको GIO Stadium मा  बिहीबार स्थानीय समयअनुसार साँझ ७.३० बजे हुन गइरहेको यस छनोट चरणको खेलमा नेपाली टोलीको नेतृत्व कप्तान किरण चेमजोङले गर्नेछन् । अखिल नेपाल फुटबल संघबाट प्राप्त जानकारीअनुसार गोलकिपर- किरण चेमजोङ्ग, बिकेश कुथु, विशाल श्रेष्ठ रहेका छन् । त्यस्तै सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ्ग, देवेन्द्र तामाङ्ग, रजिन धिमाल, सुमन अर्याल डिफेन्डमा रहनेछन्।

त्यसैगरी सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरूङ्ग, विक्रम लामा, तेज तामाङ्ग, सन्तोष तामाङ्ग, विशाल रार्इ, रोहित चन्द मिडफिल्डरको रूपमा खेल्नेछन् भने विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ फरवार्डमा रहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कलिनले एलन न्यौपाने, विमल राना र रवि सिलवाललाई अतिरिक्त खेलाडीको रूपमा टोलीमा समावेश गरेका छन्।

नेपाली टोली फिफा विश्वकप-२०२२ को छनोट चरणको पहिलो खेलमा कुवेतसँग पराजित भए तापनि दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई पराजित गर्न सफल भएको थियो।अष्ट्रेलियासँग तेस्रो खेल  खेलेपश्चात् आगामी १५ अक्टोबरमा Home and away format को अन्तिम खेल खेल्नका लागि नेपाली टोली काठमाडौं हुँदै जोर्डन जाने कार्यक्रम रहेको छ ।

त्यस्तै नेपाली टोलीले यस वर्षको अन्त्य र अर्को वर्षको जुनसम्म गरी यस समूहका देशहरू कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग आफ्नै घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

खेलमा सहभागी भइ खेल हेर्न र नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न नेपाली राजदूतावास, क्यानबेराले अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई  अनुरोध गरेकाे छ । उक्त खेल Fox Sports, ABC TV, Kayo Sports, My Football Live App मा प्रत्यक्ष प्रसारणमार्फत पनि हेर्न सकिने राजदूतावासले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *