राष्ट्रपति भण्डारीलाई म्यान्मारमा भव्य स्वागत (फोटोफिचर)

डिसी नेपाल
२९ असोज २०७६ २२:३७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा पुगेकी भण्डारीलाई भव्य स्वागत गरेको छ।

उनलाई म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री ऊ क्य तीन, धार्मिक मामिला तथा संस्कृतिमन्त्री थुरा ऊ आङ को र नेपित नगरका प्रमुख डा म्यो आङले स्वागत गरेका थिए।

नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासले पनि राष्ट्रपतिको स्वागत गरेका थिए। राष्ट्रपति भण्डारीलाई नेपित शहरका बालबालिकाले पनि पुष्पहार चढाई स्वागत गरेका थिए।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन्।

राष्ट्रपति भण्डारीले असोज २९ देखि कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपति मिन्तबीच बिहीबार बिहान प्रेसिडेन्सियल हाउसमा भेटवार्ता हुनेछ।

राष्ट्रपतिसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीले पनि सोही हाउसमा भेट गर्नेछिन्। सोही दिन म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँग बिहीबार नै म्यान्माका डिफेन्स सर्भिसका कमान्डर इन चिफले भेट गर्नेछन्। त्यस्तै जेम्स म्युजियमको पनि नेपाली प्रतिनिधिमण्डलले अवलोकन गर्ने कार्यक्रम छ।

यसैगरी राष्ट्रपति भण्डारीको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *