कर्णालीमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति

डिसी नेपाल
३० असोज २०७६ १२:१८

सुर्खेत, । कर्णाली प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको पाइएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा वीरेन्द्रनगरमा सञ्चालित सुर्खेत आँखा अस्पतालमा आउने बिरामीको तथ्याङ्कलाई आधार मानेर अस्पतालले प्रदेशमा झण्डै १५ हजार न्यून दृष्टियुक्त व्यक्ति रहेको अनुमान गरेको हो ।

अस्पतालका अनुसार करीब नौ हजार नागरिकमा मोतियाविन्दुको समस्या छ । अस्पतालका प्रबन्धक घनबहादुर थापाले बिरामीमध्ये तीन हजार ४०० नागरिकसम्म मात्र उपचारको पहुँच पुगेको बताए। “कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र छैनन्, दूरदराजमा अझै आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्ने गरिएको छैन्”, उनले भने, “आँखा संवेदनशील अङ्ग भए पनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण थुपै्र न्यून दृष्टियुक्त व्यक्तिहरु अस्पतालसम्म आउन सक्दैनन् ।”

कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न आँखा अस्पताल भएकाले यहाँ दिनहुँ बिरामीको भीड लाग्ने गर्दछ । प्रबन्धक थापाले प्रदेशका ६० हजार नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिए । आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञद्वारा आँखा जाँच गराउन जरुरी रहेको उनको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *