मीनाले यातनाको विरोधमा आवाज उठाइन्, श्रीमानले जिब्रो दुई टुक्रा पारिदिए

डिसी नेपाल
१ कार्तिक २०७६ १०:५७

काठमाडौं। आफ्ना श्रीमान र सौताको यातनाविरुद्ध आवाज उठाउँदा २२ वर्षकी एक महिलाले आफ्नो जिब्रो नै गुमाउनुपरेको छ । रिसाएका श्रीमानले ब्लेडले ती महिलाको जिब्रो नै दुई टुक्रा पारिदिएपछि उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । आज तकको समाचारअनुसार यो घटना भारतको बिहार राज्यको मुजफ्फरपुरको हो ।

सरैया गाउँमा ती आरोपी श्रीमानलाई गाउँलेले समातेर पुलिसको जिम्मा लगाएका छन् । घटनाबाट रिसाएका गाउँलेले आरोपी पति मोहम्मद शफिकलाई पोलमा बाँधेका थिए । उनलाई पछि पुलिस आएर पक्राउ गरेर लिएर गएको हो । समाचारमा जनाइएअनुसार ती महिला र उनकी हसौताबीच झगडा भएको थियो । झगडाबाट रिसाएका पतिले ब्लेडले आफ्नी कान्छी श्रीमतीको जिब्रो काटिदिएका हुन् । पीडित मीना खातुनलाई गम्भीर अवस्थामा एसकेएमसिएचको सर्जरी विभागमा भर्ना गरियो । डा. अमलेंदुका अनुसार महिलाको जिब्रोमा गम्भीर चोट छ र रगत धेरै बगेका कारण हालत नाजुक छ ।

पीडित मीनाकी आमा आयशा खातुनले ज्वाइँ र छोरीकी सौताविरुद्ध उजुरी दर्ता गराएकी छिन् । पुलिसले दिएको जानकारीअनुसार आरोपी पति हिजो बिहीबार नै राजस्थानबाट फर्केका थिए । घरमा दुई सौताबीच झगडा भएको थियो । कान्छी पत्नी मीना यातनाबाट दिक्क भएर घरबाट निस्कन चाहेकी थिइन् । यसबाट आक्रोशित पतिले पहिले उनलाई कोठामा थुनेर निर्घात कुटे त्यसपछि ब्लेडले जिब्रो २ टुक्रा पारिदिए । परिवारका अनुसार शफिकले यसअघि पनि मीनाले यातनाको विरोध गर्दा जिब्रो काटेर बोली बन्द गरिदिने धम्की दिन्थे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *