अफगान राष्ट्रपतीय निर्वाचनको नतिजा आउन ढिलाइ

डिसी नेपाल
१ कार्तिक २०७६ २१:१०

काबुल (रासस/एएनआइ) । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाइ भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसएिको जानकारी दिए ।

अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो । चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए । चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो ।

तर त्यस्तो मेसिनमा संग्रहित तथ्याङ्कबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन ।

तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाइ छ । निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहे पनि चुनावी परिणाम घोषणा गर्न तीव्ररुपमा काम भइरहेको बताए ।

चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन् । सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *