मेक्सिकोबाट फर्काइएका ३२५ भारतीय नयाँ दिल्लीमा, नेपाली भने मेक्सिकोमै अलपत्र

डिसी नेपाल
१ कार्तिक २०७६ २२:५८

नयाँदिल्ली (रासस/एएनआई)। मेक्सिकोबाट फिर्ता पठाइएका ३२५ जना भारतीय नागरिक शुक्रबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।

मेक्सिकोको बाटो भएर अमेरिका प्रवेश गराइने आश्वासन पाएका भारतीय, बङ्लादेश, श्रीलङ्काली, क्यामरुनी र नेपाली नागरिकहरूलाई सीमा क्षेत्रमा रोकिएको तर ३२५ जना भारतीयहरूलाई स्वदेश पठाइएको थियो ।

नियमित उडानभन्दा फरक उडानबाट ती यात्रुहरू मेक्सिकोबाट आफ्नै देश फर्किन बाध्य भएका हुन् । अन्तर्राष्ट्रिय एजेण्टहरुको सहयोगमा ती भारतीय नागरिकहरू विगत केही महिनापछि मेक्सिको पुगेका थिए ।

एजेण्टले अमेरिका लैजाने प्रतिवद्धतासहित उनीहरुलाई मेक्सिकोसम्म पु¥याएको र अमेरिका प्रवेश गराउने प्रयास गरिरहेका समय पक्राउ गरी फिर्ता पठाइएको छ ।

मेक्सिको हुँदै अमेरिका जान खोज्ने ती भारतीयलाई मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानले नयाँ दिल्ली फिर्ता पठाएको हो ।

संस्थानले जारी गरेको वक्तव्यमा ती भारतीयहरूलाई मेक्सिकोका विभिन्न राज्यहरूबाट पक्राउ गरिएको थियो ।

मेक्सिको सरकारले आप्रवासीहरूको मानवअधिकार सम्मान गर्ने ढाँचाभित्र सुरक्षित, व्यवस्थित र नियमित प्रवासन कायम गर्ने उद्देश्यले प्रगति भइरहेको जानकारी दिएको छ ।

मेक्सिकोले सबै प्रवासीहरूलाई सहज प्रवेश दिदैन, आगमनलाई कडाई गर्दै गइरहेको छ भन्ने सन्देश दिन ती भारतीय नागरिकहरूलाई भारत फिर्ता पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरुलाई फिर्ता पठाइएकोे विमान बोईङ ७४७ –४०० स्थानीय समय अनुसार शुक्रबार विहान भारतको इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो विमान नियमितभन्दा थप उडान सेवाबाट भारत आएको थियो ।

फिर्ता गराइएका सवै भारतीय नागरिकहरुसँग आपत्कालिन कागजपत्रहरु थिए । तीनै कागजपत्रहरुका कारण शंका उत्पन्न भएपछि छानविन गरेर फिर्ता पठाइएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय नागरिकहरू जस्तै गएका बङ्लादेश, श्रीलङ्का, क्यामरुन र नेपालका नागरिकलाई भने फिर्ता पठाइएको छैन । उनीहरु अहिले पनि त्यही रहेको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *