ब्रेक्जिट सम्झौता अनुमोदनका लागि जोनसनको कसरत जारी

डिसी नेपाल
१ कार्तिक २०७६ २३:१९

लण्डन (रासस/सिन्ह्वा) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता अनुमोदनका लागि शुक्रबार अर्थपूर्ण पहल थालेका छन् ।

बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’मा शनिबार ब्रेक्जिट सम्झौताका लागि हुने महत्वपूर्ण मतदानमा केही सांसदहरूलाई आफ्नो पक्षमा ल्याउनुपर्ने मुल्याङ्कनसहित जोनसनले अभियानलाई सशक्त बनाउने ब्रेक्जिट पक्षधर बेलायती नेताहरूले बताएका छन् । यसलाई बेलायतका प्रमुख समाचार संस्थाहरूले विशेष महत्वका साथ प्रस्तुत गरेका छन् ।

जोनसनले यूरोपेली संघ (इयू)सँग बिहीबार ब्रेक्जिटका लागि नयाँ सहमति गरेका थिए। बेलायतको फाइनान्सियल टाइम्सले भनेको छ, “ब्रेक्जिटका लागि प्रधानमन्त्री जोनसनले गरेको नयाँ सहमतिलाई औपचारिकता प्रदान गर्न बेलायती संसदबाट अनुमोदन हुनुपर्छ । यसका लागि सहमतिको पक्षमा ३२१ मत प्राप्त गर्नुपर्छ । तर जोनसनसँग ३१८ मत रहेको छ ।”

तर स्काई न्यूजले गरेको प्रक्षेपणमा भनिएको छ, “प्रधानमन्त्री जोनसनसँग ३१६ मत छ । उनले सहमतिलाई पारित गराउन थप चार मत बढाउनुपर्छ ।”

टाइम्सका अनुसार शनिबार हुने मतदानमा अघोषित अर्थात् अनिर्णित देखिएका ५५ सांसदले मतदान कक्षमा पुगेपछि के गर्नेछन्,ले सहमतिलाई अनुमोदन गर्ने वा नगर्ने फैसला गर्नेछ ।

टाइम्सले प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अधिकारीलाई उद्धृत गर्दै भनेको छ, “प्रधानमन्त्री जोनसनले आगामी २४ घण्टालाई सहमतिको पक्षमा बहुमत सांसदलाई उभ्याउने कसरतलाई थप जारी राख्नुहुनेछ ।”

यदि पछिल्लो सहमतिलाई संसदले अनुमोदन गरेमा ब्रेक्जिटबारे देखिँदै आएको तनावलाई अन्त्य गर्नेछ ।

यदि शनिबारको अन्त्यसम्ममा कुनै सम्झौता हुन नसकेमा बेलायतले इयूको सदस्यता बढाउन आवश्यक पर्ने कानूनलाई संसदले पारित गरिसकेको बेलायतका समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *