विकासको केन्द्रमा पर्दैछ जाजरकोट

डिसी नेपाल
३ कार्तिक २०७६ १२:५१

जाजरकोट । पाँच वर्षअघिसम्म सडक सञ्जालसँग जोडिन धौधौ भएको जाजरकोट अहिले सडकको केन्द्रविन्दु भएको छ । जिल्लामा भित्रिने र बाहिरिने सडकहरु जाजरकोटबाट भएर जाने भएपछि केन्द्रमा परेको हो ।

राष्ट्रिय सडक तथा क्षेत्रीय सडकहरु जाजरकोट भएर जाने भएपछि जिल्ला केन्द्रमा परेको छ । जमुनाह–छिन्चु–जाजरकोट–डोल्पा हुँदै चीन जोड्ने सडक (भेरी करिडोर), रुकुमपूर्व, पश्चिम हुँदै जाजरकोटबाट दैलेख जोड्ने मध्यपहाडी लोकमार्ग (पुष्पलाल) छिन्चु–सल्यान–जाजरकोटबाट जुम्ला–रारा सडक (जाजरकोट–जुम्ला–रारा), लुम्बिनी–दाङ हुँदै जाजरकोट–रारा सडक (लुम्बिनी–रारा सडक) र जाजरकोट–नलगाड नगरपालिका–बारेकोट गाउँपालिका हुँदै जुम्ला जोड्ने सडक जाजरकोट भएर गएका कारण जिल्लाको बीच भागमा परेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

व्यापारिक दृष्टिकोणले जिल्ला केन्द्रमा भएका कारण विकासको गति अनि यसको फाइदा लिन सके जिल्लाको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने मन्त्री बस्नेतले बताए । अहिले सबै सडकहरु निर्माण कार्य धमाधम चलिरहेको छ । सडकहरुको बीचमा रहेका पुलहरुसमेत प्राविधिक लागत अनुमान गरी निर्माणमा तीव्रता दिइएको उनको भनाइ छ । छिन्चु–जाजरकोट सडकखण्डमा अहिले कालोपत्र भइसकेको छ । जाजरकोट सदरमुकाम हुँदै पाँचकाटियासम्मको सडकमा कालोपत्रका लागि प्रक्रियामा गइसकेको सडक विभागले जनाएको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गमा जाजरकोट खण्डमा कालोपत्रको काम धमाधम भइरहेको छ । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकामदेखि दल्लीसम्मको सडकमा यसै आर्थिक वर्षदेखि कालोपत्रको काम शुरु हुन लागेको छ । जिल्लाका आन्तरिक सडक छेडा–मार्क–शिवालय हुँदै कचाली जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । यो आर्थिक वर्षमा कालोपत्र र स्तरोन्नतिका लागि थप बजेट आई कार्यान्वयन तहमा पुगेको जाजरकोट (क) का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए ।

विकास भएन भनी रुने दिन गएको भन्दै उहाँले अब जिल्लामा उत्पादन भएका वस्तुलाई बजारीकरण गरी अर्थोपार्जनतिर लाग्नुपर्ने उनको भनाइ छ । उनले भने, “आउने सामग्री ल्याएर आएको गाडी फर्कँदा रित्तो जाने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो ।” त्यस्तै जिल्लालाई विद्युतीकरण गर्नका लागि तीन ठाउँमा विद्युत्का सवस्टेशन निर्माण कार्य शुरु भएको छ । एक ठाउँमा सवस्टेशन निर्माण कार्य पूरा भएर विद्युत् वितरण गर्ने काम सञ्चालन भएको छ ।

मुख्य–मुख्य सडकको केन्द्र भागमा सवस्टेशन निर्माण गरी विद्युत् वितरण गर्न मन्त्री बस्नेतले बनाएको कार्ययोजनाअनुसार काम भइरहेको नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए। त्यस्तै नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) आउने अन्तिम तयारीमा पुगेको छ ।

आयोजनाले पहिलेको भन्दा ४१० मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिए पनि अहिले बाँधस्थलको उचाइ बढेका कारण थप सात मेगावाट विद्युत् उत्पादन वृद्धि हुने प्रतिवेदन तयार गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–७ दानीपिपलमा ४०० केभी प्रसारण लाइनको सवस्टेशन निर्माणका लागि प्रक्रिया शुरु भइसकेको छ । जिल्लामा जोडिएको सडक सञ्जालसँग विद्युत् लाइनहरु मिलाएर गएमा काम छिटो हुने र सबै ठाउँमा पुग्न प्रभावकारिता भएको मन्त्री बस्नेतको दाबी छ ।

भौगोलिकरूपमा अलि जटिल रहेको जाजरकोटमा सडक विकास र विद्युतीकरण जिल्लाभर बनाउन अब कम्तीमा तीन वर्षभन्दा बढी नलाग्ने सरोकारवालाको भनाइ छ ।

सात स्थानीय तहलाई सडकसँग जोडिने

जिल्लाका सात स्थानीय तहलाई यसै वर्ष सडक सञ्जालले छुने स्थानीय सरकारका प्रमुखले बताएका छन् । सडक सञ्जाल पुगेसँगै स्थानीय उत्पादनलाई बजारीकरण गर्न विशेष योजना बनाएको स्थानीय तहका प्रमुखहरुको भनाइ छ । नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले भने, “हाम्रोमा लसुन, टिमुरको पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेका छौँ र मह र सुन्तला विभाग ९जोन०को कामसमेत सँगसँगै बढेको छ ।

नगरभित्र रहेका १३ नमूना बस्तीमा सडक सञ्जालसँग जोडेर जनताको जीवनस्तर उकास्नका लागि पहल कदमी जारी रहेको छ । भेरी नगरपालिकाले स्थानीय सङ्घ, संस्थासँग मिलेर स्मार्ट सिटीको अवस्थाअनुसार काम थालनी गरेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । जुनिचाँदे गाउँपालिकामा टिमुर, कोदो संरक्षण र जडीबुटी, बहुमूल्य पत्थरको व्यवस्थाको कार्य गरिन लागेको अध्यक्ष कृष्णबहादुर केसीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *