समृद्धिका लागि समाजवाद आवश्यक : श्रेष्ठ

डिसी नेपाल
६ कार्तिक २०७६ १४:३२

काठमाडौं । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताएका छन् ।

नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताए । नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धि नभई देश समाजवादमा पुग्न नसक्ने औँल्याउँदै नेता श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताए ।

सो पार्टीको महालक्ष्मी नगर समितिका अध्यक्ष दीपा थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, केन्द्रीय सदस्य राजन केसी, ३ नम्बर प्रदेशका सहइञ्चार्ज लालबहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद् सदस्य विनोद नेपालीलगायतले समाजवादी पार्टी देशको वैकल्पिक राजनीतिक शक्ति बनेको जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डितलगायत ८१ नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उत्तम लामा, मानबहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य–सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महतलगायतले पनि नवप्रवेशीलाई स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *