पाकिस्तानमा रहेको यो बौद्ध स्तूप यसकारण विशेष छ

डिसी नेपाल
११ कार्तिक २०७६ १०:२९

बीबीसी । बौद्ध धर्म विश्वका प्रमुख धर्ममध्ये एक हो, तर पाकिस्तानमा यसका अनुयायी निकै कम छन्। तर पाकिस्तानमा बौद्ध धर्मका कैयौँ प्राचीन स्थान र बहुमूल्य कलाकृति छन्।

विगत केही वर्षदेखि धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्यहाँ कतरापुर करिडोरसहित विभिन्न परियोजनामा काम भइरहेको छ। साथै गन्धारा सभ्यताप्रति विदेशी पर्यटकहरूको रुचिलाई मध्यनजर गर्दै बौद्ध धर्मसम्बन्धी कार्यक्रम पनि गर्न थालिएको छ।

पाँचौँ शताब्दी ईसापूर्वदेखि दोस्रो शताब्दी ईसापूर्वसम्म तक्षशिला बौद्ध शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र मानिन्थ्यो। यहाँ विभिन्न स्तूप, पूजा स्थल तथा पुरातात्त्विक अवशेष छन् जसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सक्छन्।

यी ठाउँहरू पाकिस्तानको प्राचीन स्थलहरूको सूचीमा मात्रै समेटिएका छैनन्, बरु तिनलाई बौद्ध धर्मावलम्बीहरूबीच एउटा महत्त्वपूर्ण पूजा स्थलको रूपमा पनि लिने गरिन्छ।

नेपाल, भारत, म्यानमार र कोरियामा बौद्ध धर्मावलम्बीहरूको राम्रो उपस्थिति छ। बौद्ध धर्मावलम्बीहरूका लागि गत हप्ता तक्षशिलास्थित एउटा प्राचीन स्थलमा सातौँ शताब्दीपछि पहिलो पटक विशेष पूजाआजा गरियो।

खैबर पख्तुनख्वा पुरातत्त्व विभागको अगुवाइमा हरिपुर जिल्लास्थित भीमाला स्तूपनजिक पूजाआजा गरिएको थियो जहा कोरियाली भिक्षुहरूले विश्व शान्तिको कामना गरे।

त्यसबारे कोरियाका एक भिक्षु डा. सिनमले भने, ‘हाम्रो लागि यो विश्वका सात पवित्र स्थलमध्ये एक हो। तीमध्ये यो सबैभन्दा पवित्र स्थल हो।’

उक्त स्तूप खानपुर बाँधनजिकैको एउटा पहाडमा अवस्थित छ। रोचक कुरा के छ भने यो प्राचीन स्थल माथिबाट क्रस आकारमा छ र त्यसलाई गन्धारा सभ्यताको अन्तिम प्रमाणमध्ये एक मानिन्छ।

भीमाला स्तूपसम्म पुग्नका लागि खानपुर बाँधनजिक एउटा बाटो छ। बाटो त्यति राम्रो छैन, तर उपत्यकामा नदीको मनमोहक दृश्यले तपाईँको थकान मेटाइदिन्छ।

उक्त स्तूपलाई सन् १९३० को दशकमा ब्रिटिश पुरातत्त्वविद् सर जोन मार्शलले पत्ता लगाएका थिए। युनेस्कोको सम्पदा सूचीमा सूचीकृत यो ऐतिहासिक स्थलका केही अवशेष तक्षशिला सङ्ग्रहालयमा पनि हेर्न सकिन्छ।

यहाँ पुगेर दर्जनौँ भर्‍याङ्गहरू उक्लेपछि तपाईँले क्रस आकारको स्तूप हेर्न सक्नुहुन्छ जहाँ अध्ययन भ्रमणका क्रममा हजारा विश्वविद्यालयका विद्यार्थीहरू प्रायः गइरहन्छन्।

स्तूपको चारैतिर भर्‍याङ्ग छन् जहाँ बौद्ध अनुयायीहरू पूजा गर्न आइरहन्छन्। त्यहाँ अनेक मूर्ति, पूजा स्थल र प्राचीन सामग्री सजिलै हेर्न सकिन्छ।

विशेषज्ञहरूका अनुसार भीमाला स्तूपबाट प्राप्त बुद्ध मूर्ति कन्जुर ढुङ्गाको हो र त्यो सम्भवतः त्यो क्षेत्रको सबैभन्दा प्राचीन बौद्ध मूर्तिमध्येको एक हो।

तक्षशिला सङ्ग्रहालयका क्युरेटर अब्दुल नासिरले अफगानिस्तानस्थित हेदा र पाकिस्तानस्थित तक्षशिला गन्धारा सभ्यताका लागि विश्वभरि प्रसिद्ध रहेको बीबीसीलाई बताए।

‘गन्धारा सभ्यतासँग सम्बन्धित कला विश्वभरि लोकप्रिय छ। यो कलाको उद्देश्य धर्मको प्रचार र पूजा थियो। यो कला घरमा होइन स्तूपहरूमा भिक्षुहरूले बनाउँथे।’

उनले थपे, ‘यी मूर्तिहरूका लुगा आभूषण र शैली विश्वभरि लगभग उस्तै हुन्छन्।’ नासिरका अनुसार स्वप्निल मूर्तिको विशेषता भनेको त्यसले संसारबाट गौतम बुद्धको प्रस्थानलाई दर्शाउँछ।

स्तूपमा हुने कार्यक्रमका आयोजकमध्येका एक शामिल सदाफ रजाले भने, गन्धारा सभ्यताको सन्दर्भमा पाकिस्तान सरकारसँग मिलेर के गर्न सकिन्छ भनेर कोरियाली भिक्षुहरू यहाँ आउनुभएको हो।

‘यदि हामी यफ स्थलहरूलाई उनीहरूका लागि खोलिदिन्छौँ भने हाम्रो देशमा पर्यटन प्रवर्द्धन हुनुका साथै उनीहरूले पनि मनको शान्ति हुने ठाउँ पाउनेछन्।’ शान्तिको कामनासहित गरिएको गत हप्ताको पूजा विशेष थियो। भिक्षु डा. सिनमले कश्मीर समस्याबारे चिन्ता व्यक्त गरे।

बीबीसीसँग कुरा गर्दै उनले सो क्षेत्रमा आफूले शान्ति बहाल भएको हेर्न चाहेको बताए। उनले थपे, ‘हामी सबै एक हौँ। हाम्रो लागि पाकिस्तान आफ्नै देशजस्तो छ। तपाईँ चाहे बौद्ध धर्म मान्नुस् अथवा इस्लाम हामी सबै एक हौँ।’

विशेष पूजाका क्रममा भिक्षु डा. सिनमले यहाँका पूजा स्थल तथा मठहरूमा दूध तथा फलफूल चढाएका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *