कलाकारको तिहार : कसले कहाँ मनाउँदैछन् ?

डिसी नेपाल
११ कार्तिक २०७६ ११:०६

काठमाडौं। मंगलबार तिहारको अन्तिम दिन अर्थात भाइटीका। दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई सप्तरंगी टीका लगाइदिएर भाइटीका मनाउँदैछन्। यतिबेला नेपाली कलाकारहरु पनि भाइटीकाको तयारीमा छन्।

काठमाडौं बाहिर घर भएका कलाकारहरु भाइटीकाको लागि जन्मघर पुगिसकेका छन्। कोही जाने तरखरमा छन्। कोही स्टेज कार्यक्रम सकेर घर पुग्ने बताउँछन्। यता कोही भने देउँसीभैलोमा रमाइरहेका छन्। हामीले यहाँ केही कलाकारहरुलाई भाइटीका कहाँ मनाउँदै हुनुहुन्छ? भनी सोधेका छौं।

बिराज भट्ट, अभिनेता

अभिनेता विराज भट्टको यसवर्ष तिहार काठमाडौंमै बित्नेछ। काठमाडौंमा रहेका दिदीबहिनीहरुसँग भाइटीका लगाएर तिहार मनाउने बिराज बताउँछन्। उनको नयाँ चलचित्र ‘साङ्लो’ आउँदो फागुनमा प्रदर्शनमा आउँदैछ। त्यसैको तयारीमा उनले प्रशस्त समय दिनुपर्ने छ।

तिहारले दिदीभाइ तथा दाजुबहिनीबीचको आत्मियतालाई थप प्रगाढ बनाउने विराज बताउँछन्। तर, तिहारमा हुने केही क्रियाकलाप भने मन नपर्ने उनी बताउँछन्। भन्छन्, –‘पटका पड्काएको, जुँवातास खेलेको भने मनपर्दैन् त्यसले हामीलाई फाइदा पनि गर्दैन् जस्तो लाग्छ।’

सरिता लामिछाने, अभिनेत्री

अभिनेत्री सरिता लामिछाने तिहारमा भाइटीकाको दिन झापा पुग्दैछिन्। भन्छिन्, ‘मेरो आफ्नै भाइहरु दुई जना छन्। त्यस्तै दुई जना आफन्त दाईलाई पनि भाइटीका लगाउनेछु। पारिवारिक भेटघाट, रमाइलो गरी नै तिहार बित्नेछ।’

उनी सामान्य तरिकाले तिहार मनाइरहेको बताउँछिन्। ‘भाइटीका पनि सामान्य हुन्छ। मनबाट दाजुभाइलाई आशिर्वाद दिन्छु, त्यति हो’–उनी सुनाउँछिन्।
यसवर्षको तिहार उनका लागि अझ विशेष रह्यो। कारण, –तीनवटा तिहार गीतमा अभिनय गरिन्। तिनवटै गीतलाई स्रोता/दर्शकले असाध्यै रुचाए।

‘सबै गीतलाई दर्शकले असाध्यै मन पराउनुभयो। भेटिनुभएकाहरुले पनि तपाईको गीत हेरेको थिए भन्नुहुन्छ’– सरिता खुःसी साट्छिन्। तिहारमा प्रयोग हुने सामाग्रीहरु आर्टिफिसियल भैरहेकोप्रति भने उनी चिन्तित देखिइन्। उनी आफू देउसी भैलो खेल्ने, नाँच्ने नगरेपनि अरुको प्रस्तुतीमा रमाउँदै आएको बताउँछिन्।

स्वस्तिमा खड्का, अभिनेत्री

अभिनेत्री स्वस्तिमा खड्काको टीका छैन्। तर, सेलिव्रेशन गरेर तिहार मनाउने योजना छ। ‘निश्चलजीको आफन्त बित्नुभएको हुनाले टीका छैन। तर, सेलिब्रेट गरेर रमाईलोका साथ तिहार मनाउनेछु’– स्वस्तिमा भन्छिन्।

तिहार भन्ने वित्तिकै मनमा झिलिमिली बत्ति, देउसीभैलो र भाईटीका सम्झनामा आउने उनी बताउँछिन्। यद्यपी पाँचै दिन उनलाई विशेष लाग्छ। चलचित्र क्षेत्रमा आएपछि भने देउसीभैलो खेल्न नपाएको उनी बताउँछिन्।

प्रकाश सपूत , गायक

प्रकाश सपूतका आफ्नै दिदीबहिनी छैनन्। उनले धर्मदिदी बनाएकी शान्ता सुनारबाट तिहारको भाइटीका लगाउँदै आएका छन्। त्यसैले पनि अधिकांश तिहार काठमाडौंमा बिताउँदै आएका छन् प्रकाश। यसवर्ष पनि काठमाडौंमा उनै शान्तासँग टीका लगाउने प्रकाश बताउँछन्। भन्छन्, –‘काठमाडौं आएदेखि उहाँसँगै तिहारको टीका लगाउने गरेको छु।’

टीका बाहेक भेटघाट, घुमघाम गरि रमाइलोका साथ तिहार मनाउने प्रकाशको योजना छ। तिहार उनलाईं साह्रै मनपर्छ। वाल्यकालमा विशेष गरि देउसीभैलो भनेपछि हुरुक्कै हुन्थे। तर, पछिल्ला वर्ष कार्यव्यस्तताले देउसीमा हिँडन भने भ्याएका छैनन्। यसवर्ष प्रकाशका केही तिहार गीत पनि सार्वजनिक भएका छन्।

रमेश बिजी, गीतकार

लोकप्रिय गीतकार रमेश बिजी यसवर्षको तिहारमा काठमाडौंमा हुनेछन्। उनी भन्छन्, –‘मेरो आफ्नै दिदीबहिनी नभएकोको कान्छो वुवा–ठूलो वुवाको छोरीहरुको हातबाट टिका लगाउँथे। यसवर्ष मेरो टीका नभएकोले तिहार काठमाडौंमै हुने भएको छ।’

उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको देउसीभैलोमा सरिक हुनेछन्।  उनी आफ्नै दिदीबहिनी नभएका कारण तिहारका अन्य दिन रमाईलो लागेपनि भाईटीकाको दिन खल्लो मशसुस हुने बताउँछन्। यद्यपी देउसीभैलो, जताततै झिलिमिलीले छुट्टै रमाईलो पैदा गराउने रमेश बताउँछन्। यसवर्ष सार्वजनिक रमेशको तिहार गीत ‘टीकामाला’लाई स्रोता/दर्शकले अत्याधिक रुचाएका छन्।

कमल खत्री, गायक

गायक कमल खत्रीले तिहार जन्मघर सर्लाहीमा मनाउनेछन्। विभिन्न सांगीतिक कार्यक्रम सकेर ११ गते घर पुग्ने कमल बताउँछन्। ‘हामी चार दाजुभाइको एउटा बहिनी। उनको हातबाट टीका लगाउँछु। पारिवारिक भेटघाट, खानपान, रमाईलोसंग तिहार मनाउनेछु’–कमल भन्छन्।

उनी बाल्यकालमा देउसी खेलेपनि पछिल्ला वर्षहरुमा कार्यक्रमको व्यस्तताले देउसी खेल्न नपाएको बताउँछन्। यद्यपी घरमा देउसी खेल्न आउनेहरुलाई रमाईलो माहोलको सिर्जना गराउने बताउँछन्।

क्रिष्टिना गुरुङ, अभिनेत्री

नव–अभिनेत्री क्रिष्टिना गुरुङले काठमाडौं महाराजगञ्ज घरमा आफ्ना दुई भाइलाई भाइटीका लगाइदिनेछिन्। तिहार, क्रिष्टिनाको फेवरेट चार्ड। त्यसमाथि विगतका केही वर्ष यूएसमा मनाएकी उनको लागि यसवर्षको तिहार विशेष छ।

‘लक्ष्मीपूजाको दिन आफैं रंगोली बनाए, अब भाइटीकाको दिन टीका लगाउने, रमाईलो गर्ने गरेर तिहार मनाउनेछु’– तिहार योजनाबारे क्रिष्टिना भन्छिन्। क्रिष्टिना ‘प्रेम गीत ३’बाट नेपाली चलचित्र उद्योगमा पाइला चाल्दैछन्। जसको सुटिङ तिहारलगत्तै शुरु हुँदैछ।

सम्झना भण्डारी, गायिका

तिहारमा गायिका सम्झना भण्डारी काठमाडौंमै हुनेछिन्। यसवर्ष उनको टीका छैन्। तिहार विशेष केही कार्यक्रम सकेर आईतबार काठमाडौं आएकी सम्झना भन्छिन्, –‘यसवर्ष मैले टीका लगाउन नहुने भएकाले काठमाडौंमै हुनेछु। यहाँ कलाकारहरुसँग देउसीभैलोमा सामेल भएर तिहार मनाउनेछु।’

सम्झनालाई वाल्यकालको देउसीभैलाको सधै सम्झना आउँछ। सानोमा गाउँमा साथिहरुसँग देउसी खेल्न गइन्थ्यो। देउसी भट्याउनमा अग्रसर हुन्थेँ, देउसी खेलेर कमाएको पैसा पिकनिक, भ्रमण तथा अन्य रमाइलोमै सक्थ्यौं। त्यो समयको जस्तो रमाईलो अहिले त कहाँ हुन्छ र?– उनी बाल्यकालको तिहार सम्झेर रोमाञ्चक हुन्छिन्।

उमेश राई, हास्य कलाकार

हास्य कलाकार उमेश राईले जन्मघर इटहरीमा भाइटीका लगाउनेछन्। उनको एक दिदी, एक बहिनी छिन्। उनीहरुकै हातबाट भाइटीका लगाउने उमेश बताउँछन्। ‘तिहार रमाईलो लाग्छ। सयपत्री फूल फुलेको, देउसीभैलोमा छुट्टै आनन्द आउँछ’ उनी तिहारबारे भन्छन् –‘अहिले पनि भ्याएसम्म टीका लगाएसंगै देउसीभैलो खेल्ने, नाच्ने तथा गाउने गर्छु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *