नर्सिङ सङ्घको निर्वाचन पुसमा

डिसी नेपाल
१६ कार्तिक २०७६ १९:४१

काठमाडौं। नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घको नयाँ कार्य समितिको निर्वाचन आगामी पुस ९ गते हुनेभएको छ । सङ्घको १९औं कार्यसमितिको निर्वाचन निर्धारित समयभन्दा करीब डेढ वर्ष ढिला गरी हुन लागेको हो ।

आगामी मङ्सिर ९ गतेसम्म सदस्यता दर्ता गर्न सङ्घले समयसीमा निर्धारण गरेको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिको संयोजकमा लक्ष्मी राईलाई तोकेको छ । उनले भनिन्, “मङ्सिर ९ गतेभित्र आफ्नो सदस्यता दर्ता गर्नेलाई मात्र निर्वाचनमा मताधिकार रहन्छ ।” हाल सङघमा करीब १३ हजार नर्स आवद्ध छन् । नेपाल नर्सिङ काउन्सिलमा दर्ता हालसम्म ५५ हजार ५३५ नर्स र ३३ हजार ४६७ अनमी छन् ।

सङ्घीय संरचनाअनुसार सङ्घको नयाँ नेतृत्व चयन हुने सङ्घका अध्यक्ष प्रा तारा पोखरेलले जानकारी दिइन्। उनले भनिन्, “विधान संशोधनका कारण सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचनमा केही ढिलाइ भएको हो । नीति निर्माण तहमा नर्सको सहभागिता बढाउन स्वास्थ्य मन्त्रालयले ध्यान दिनुपर्छ । स्वास्थ्य सेवालाई अझ प्रभावकारिता बनाउने विषयमा हामी गम्भीर छौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *