स्वास्थ्य विधेयकबारे सरोकारवालाबीच छलफल

डिसी नेपाल
२४ कार्तिक २०७६ २१:१९

सुर्खेत। कर्णाली प्रदेश सरकारले बनाएको स्वास्थ्य सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ। सरोकारवाला, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवंम प्रतिनिधिहरुको सहभागितामा विधेयकमाथि छलफल गरिएको हो ।

युएनडिपीको सहयोगमा एसोसियसन अफ युथ अर्गानाईजेसन नेपाल (आयोन)ले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको नीति समिक्षा कार्यशालामा उक्त विधेयकमाथि छलफल गरिएको हो।

कार्यशालामा सहभागीहरुले स्वास्थ्य सेवा विधेयकलाई अझ मजबुत बनाउनुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा बनेको विधेयकमा कतिपय महत्वपूर्ण कुराहरु छुटेको नागरिक समाज सुर्खेतका अध्यक्ष पिताम्बर ढकालले बताए ।

‘कर्णालीमा आकस्मिक बिरामीका लागि अझै पनि समस्या छ, जनशक्तिको अभावमा बिरामीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । यसका प्रष्ट रुपमा कानूनी व्यवस्था विधेयकमार्फत गर्नुपर्ने उनले सुझाव दिए ।

राष्ट्रिय युवा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेतले विभिन्न नीति नियमहरु बनाउँदा युवाहरुसँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । यस्तै पारस्परिक जवाफदेहिता कार्यक्रमका संयोजक खिम रेग्मीले नागरिकसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नका लागि आम नागरिक, संघसंस्थासँगको सहकार्य अनिवार्य गर्नुपर्ने बताए ।

सहभागीहरुका जिज्ञासाका समाधान गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्य एवम् समाजिक विकास समितिकी अध्यक्ष राजु नेपालीले विधेयकमा छुटेका कुराहरुलाई छलफल गरी समावेश गर्ने प्रतिबद्धता जनाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *