तोकिएको समयमा काम सम्पन्न गर्न मन्त्री जम्मकट्टेलको निर्देशन

डिसी नेपाल
२६ कार्तिक २०७६ २१:४२

काठमाडौं । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका भवनहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

काभ्रेपलाञ्चोकको जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आज भएका अन्तरक्रियामा उनले निर्माण व्यवसायीहरुलाई तोकिएको समयमा काम गर्न निर्देशन दिए । उनले भने, ‘बजेट भएपनि माग्न नआएका कारण यसअघि रकम फ्रिज हुने गरेको छ, यस वर्ष त्यस्तो नहोस् ।’

मन्त्री जम्मट्टेलले पाउनुपर्ने पैसामा कुनै समस्या नपर्ने उल्लेख गर्दै काम समयमा सम्पन्न भएन भने दिनुपर्ने पैसासमेत रोकिने भएकाले त्यसमा सचेत भएर काम गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।

निर्माण कम्पनीहरुकै कारण देश डुबेको उल्लेख गर्दै उनले ठेक्का सम्झौता गर्ने अनि वर्षौंसम्म भाग्ने दिन अब गएको बताए । “मन्त्री फेरिसकेपछि हतारहतार चाकरी गर्न कुद्ने अनि जनतामाथि अत्याचार गर्न अब पाइँदैन’, उनले भने, ‘माथिको संस्कारले गर्दा सबै बिगारेको छ, अबको दिनमा त्यस्तो गर्नेलाई कसैलाई पनि छुट छैन ।’

प्रदेश नं ३ का प्रदेशसभा सदस्य रत्न ढकाल र पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङले जिल्लाका अन्य प्रहरी कार्यालय र चौकीहरुको भौतिक संरचना र आवश्यक जनशक्ति समस्याका बारेमा मन्त्रीसमक्ष जानकारी गराएका थिए ।

प्रदेश नं ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले प्रदेश सरकारले अगाडि बढाएका काम सम्पन्न हुनुपर्ने बताए । काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख जयराज सापकोटाले प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकी गरी आठवटा निर्माणाधीन अवस्थामा रहेको बताए ।

जसअन्तर्गत इलाका प्रहरी कार्यालय बनेपा, बनखु र गोकुले त्यस्तै प्रहरी चौकी फलाँटे, तेमालबेँसी, तालढुङ्गा, फोक्सिङटार र फलामेसाँघु रहेको छ । त्यसका लागि निर्माण गर्न आर्थिक वर्ष २०७५÷७६ मा रु १३ करोड ८१ हजार रकम प्राप्त भएको र त्यसलाई सम्पन्न गर्न १७ करोड ७९ लाख ४० हजार २९६ आवश्यक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले निर्माण गर्नुपर्ने कतिपय ठाउँमा मोटरबाटो नपुगेका कारण त्यहाँसम्म पुग्ने बाटो निर्माणमा सहयोग गर्न, जग्गा नमिलेको ठाउँमा छिट्टै मिलाइदिन र ठेक्का सम्झौता भएपछि पाउनुपर्ने अग्रिम रकम उपलब्ध गर्नुपर्ने माग गरेको थियो ।

जिल्लामा निर्माण भइरहेको भवनहरु खानी घिसिङ ब्राइट जेभी र किराँतेश्वर आरएमसी जेभीले ठेक्का सम्झौता गरी काम शुरु गरिरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *