सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं। सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि ‘सातौं विश्व शाैचालय दिवस’ मनाइएको छ। यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरीसहितको कार्यक्रम आयोजना गरियो।

कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए। मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन्।

नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले वातावरण प्रदुषण हुन नदिन दिसापिसावहरुको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए।

प्रभातफेरीमा सहभागी भएकाहरुले शौचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए। नागरिकको स्वास्थ्यको लागि पनि शौंचालयको सफाईमा जोड दिनुपर्ने भएकाले घरघरमा शौचालयको सफाई गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद जीवनराज श्रेष्ठले जानकारी दिए।

सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ।

नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुको चर्को समस्या झेल्नु परेको छ। विश्वमा सन् २००१ देखि चलेको शौंचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ अर्थात् आजको दिनलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालिएको हो। यस वर्ष ‘शौचालयको प्रयोगमा कोही पनि नछुटाउँ’ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो