निर्मला हत्याकाण्ड : पत्रकार भण्डारी १ घण्टा जेल बसेर छुटे

डिसी नेपाल
३ मंसिर २०७६ १७:५९

काठमाडौं । जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई दिएको ‘तुच्छ सजाय’ अन्तर्गत कारगार पठाएको छ ।

मगलवार अदालतमा उपस्थित भएका पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना सहित एक घण्टा कारागार पठाएको हो । पत्रकार भण्डारी ३ बजेर ५५ मिनेटदेखि ४ बजेर ५५ मिनेटसम्म कारागारमा छन् ।

जिल्ला अदालत बार एसोसिएसनले विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै दायर गरेको थियो । मुद्दामा जिल्ला अदालतले भण्डारीविरुद्ध एक घण्टा जेल र एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

गत साउनमा न्यायाधीश डाक्टर राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला गरेको थियो। त्यसमा केही सर्तहरू राखिएका थिए । सर्त पूरा नगरेको खण्डमा मात्र अदालतले दिएको सजाय भोग्नु पर्ने हुन्छ । त्यति मात्र होइन, सर्त पूरा गर्न तीन दिनको समय समेत छुट्ट्याइएको थियो ।

विचाराधीन विषयमा अदालतलाई प्रभावित गर्ने गरी समाचार लेखेको भन्दै कञ्चनपुर जिल्ला बारले मुद्दा दायर गरेको थियो । निर्मला पन्त हत्या तथा बलात्कार प्रकरणमा जोडिएका आठ प्रहरी विरुद्धको मुद्दामा हद म्याद लगायतका प्राविधिक विषयमा अदालतले एमिकस क्यूरी गठन गरेको थियो ।

सो विषयलाई मानस खण्ड दैनिक पत्रिकाका सम्पादक भण्डारीले ‘निर्मला हत्याकाण्ड : न्यायिक प्रक्रिया नै बिथोल्ने यस्तो डिजाइन !’ शीर्षकमा समाचार छापेका थिए ।

समाचारमा ‘एमीकसका रूपमा पठाइएका अधिवक्ता हरेन्द्रराज विष्ट अभियुक्त तथा वर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टका नातासम्बन्धी भएको दाबी गरिएको थियो । न्यायिक प्रक्रिया नै बिथोल्ने डिजाइन भएको शीर्षकमा दाबी गरिए पनि समाचारमा ‘दैनिक मानसखण्डको संक्षिप्त अनुसन्धानले अधिवक्ता र पूर्व एसपी विष्ट नाता सम्बन्धमा पर्ने देखाए पनि ठोस जानकारी प्राप्त हुन सकेको छैन’ लेखिएको थियो ।

पत्रकार भण्डारीले फेसबुक तथा पत्रिकामा अदालतको मानहानी हुने गरी लेखेको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको थियो । अदालतको फैसलामा पत्रकार खेम भण्डारीलाई ‘तुच्छ सजाय’ दिनुको कारण समेत स्पष्ट खुलाइएको थियो । फैसलामा लेखिएको थियो ।

‘यसबाट न्यायालयले यो मान्दछ कि तँ यति तुच्छ छस् कि सजाय पनि तेरो लागि अनुपयुक्त छ भन्ने हुन्छ । यस्तो अवस्था कहिलेकाहीँ क्षतिपूर्ति भराउने सम्बन्धमा पनि देखा पर्दछ। वादीले मुद्दा नगरेको भए हुने थियो तर गरिहाल्यो भनेर यस्तो प्रकृतिको क्षतिपूर्ति पनि भराउने हुन्छ ।

यस्तो क्षतिपूर्ति पायो भने दावीकर्तालाई संदेश प्रवाह हुन्छ कि (अधिकार भन्दैमा सस्तो लोकप्रियताका लागि दावी गर्ने भन्ने हुँदैन । विचार गर । त्यसैगरी सजाय पाउनेलाई तेरो लागि सजायको प्रकृति पनि शोभनीय छैनस् । तँ त्यति तुच्छ होस् भन्ने हुन्छ ।’ भण्डारीको फैसलामा भनिएको थियो ।

‘यस्तो प्रकृतिको सजाय निकै खतरनाक हुन्छ । बरु १ वर्ष कैद बस्न उपयुक्त हुन्छ । सहि, सद्धे मानिसलाई १ मिनेटको कैद वा १ दामको जरिवाना सामाजिक एवम् मानसिक रूपमा पीडादायक हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *