नेवा अर्गनाइजेशन अफ अमेरिकाले धुमधामसँग नेपाल संवत ११४० मनायो

डिसी नेपाल
८ मंसिर २०७६ १४:५६

अमेरिका । नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए)ले नेपाल सम्बत ११४० धुमधामका साथ बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । अमेरिकाका विभिन्न स्थानमा बसोबास गरिरहेका नेवार समुदाय तथा नेपाली समुदायलाई नेपाल सम्बत ११४० को उपलक्ष्यमा नेवा अर्गनाइजेशन अफ अमेरिकाले आयोजना गरेको कार्यक्रममा उपस्थिती जनाएर कार्यक्रमलाई सफल परिदिन आयोजक संस्थाले अनुरोध गरेको थियो ।

यही नोभेम्बर महिनाको २३ तारिख शनिबारका दिन साँझ ४ बजेदेखि १० बजेसम्म किंग्स भ्यू मिडिल स्कुलको अडिटोरियम हल, जरमनटाउन, मेरिल्याण्ड २०८७४ मा आयोजना गरिएको कार्यक्रम अवलोकन गर्न अमेरिकामा बसोबास गर्ने नेवारी तथा नेपाली समुदायको बाक्लो उपस्थिती थियो । एनओएले नेपाल सम्बतलाई आफ्नो प्रमुख कार्यक्रमका रुपमा वर्षेनी मनाउने गरेको छ ।

अघिल्लो वर्षजस्तै यो पटक पनि कार्यक्रमलाई थप आकर्षक बनाउन नेवारी पोसाकमा सजिएका महिला र पुरुषको समूहले प्रस्तुत गरेको धिमे बाजा सहितको सुकुन्दा र्यालीले सबैलाई प्रफुल्ल पारेको थियो । धिमेबाजा सहितको सुकुन्दा र्यालीलाई थप कलात्मक बनाउन उपस्थित सबैले ताली बजाएर स्वागत गर्नुका साथै नाचेका थिए ।

नेपालका राष्ट्रिय विभूती तथा नेपाल संवतका प्रवर्तक शंखधर साख्वाको सम्मानमा उनको तस्वीरमा माल्यार्पण गरिएको थियो । नेपाल सम्वतको विशेषताका बारेमा उपस्थित अतिथिहरुले आफ्नो मन्तव्य राखेका थिए ।

नेवार समुदायको परम्परागत नेवा समय बजी तथा नेवारी खानाले उपस्थित सबैको मुख रसाएको थियो । अमेरिकामा समेत आफ्नै गाउँठाउँको नेवारी खानाको स्वाद लिन पाउँदा खाना पारखीहरु मक्ख परेका थिए ।

उता कार्यक्रममा उपस्थित पाहुनाहरुलाई भरपुर मनोरन्जन प्रदान होस भन्ने उद्देश्यका साथ आयोजना गरिएको एनओएएलसीका विद्यार्थी लगायत ख्यातीप्राप्त नेपाली गायक, नृत्यंगना तथा स्थानीय कलाकारहरुको लाईभ सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप मनमोहक बनाएको थियो ।

त्यस्तै नेपाल भाषा कमेडी ड्रामा  Whantan Pyantan Part 2 (Whantan Pyantan wo American Visa) ले उपस्थित सबैलाई थप मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रम प्रस्तोताले नेवारी भाषामा सुरु गरेको नेवारी गीतमा उपस्थित सबैले ताल मिलाएर साथ दिनुका साथै केहीले उक्त गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । त्यस्तै ‘सालको पात टपरी’ भन्ने गीतमा उपस्थित धेरैले कम्मर मर्काएका थिए ।

बाल कलाकारको प्रस्तुती, हास्यकला, लाइभ गीतसंगीत, ‘जति माया लाएपनि जति कसम खाएपनि’ लगायतको कालजयी गीतमा उपस्थित महिला पुरुषको सामूहिक नृत्यले सबैलाई रमाउन सघाएको अनुभव गर्न सकिन्थ्यो भने अर्को ‘मेरी ओ किली’ गीतमा पूरै भीड नै रमाएको देख्न सकिन्थ्यो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *