सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरियो, साग नखेल्ने

डिसी नेपाल
९ मंसिर २०७६ १९:३५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको सोमबार आँखाको शलयक्रिया गरिएको छ। नेपाल क्रिकेट संघका एनालाइटिक्स रमण शिवाकोटीले लामिछानेको आँखाको शल्यक्रिया तिलगंगा आँखाँ अस्पतालमा गरिएको पुष्टि गरे।

तर, उनको समस्या के हो भन्नेबारे भने जानकारी दिइएको छैन। टि टेन लीग खेल्न यूएई गएका सन्दीपले आफ्नो टिमका लागि खेल्न सकेका थिएनन्। उनी यूएईबाट फर्के लगत्तै आँखाको शल्य क्रिया भएको हो।

शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले सन्दीपले दक्षिण एशियाली खेलकुद ( साग)मा नेपालका लागि खेल्न नपाउने भएका छन्। शिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको पुष्टि गरेका छन्। सन्दीपको शल्यक्रिया ठिक हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए।

सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।

टियु क्रिकेट मैदानमा हुने सागमा नेपालले श्रीलंकासँग डिसेम्बर ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।

सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *