सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

डिसी नेपाल
११ मंसिर २०७६ १२:०२

काठमाडौं । दाङ, गुल्मी, म्याग्दी र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

दाङ, बंगलाचुली गाउँपालिका–६ बचेनीस्थित सडकमा घोराहीदेखी प्युठानको ढिकावाङतर्फ जाँदै गरेको ना.३ ख ६५४२ नम्बरको बस सडकदेखी अन्दाजी ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बसमा सवार प्युठान माण्डवि गाउँपालिका–२ बस्ने १६ वर्षीया नेहा ओलीको घट्नास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ६ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।

गुल्मी, सत्यवती गाउँपालिका–३ ठुलो लुम्पेकस्थित सडकमा लु.१ ज २७८४ नम्बरको जिप अनियन्त्रीत भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा जिपमा सवार सत्यवती गाउँपालिका–२ थुम्का बस्ने ६८ वर्षीया ललिती देवी सिंजालीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।

म्याग्दी, बेनी नगरपालिका–६ स्थित सडकमा ध.१ च २३५ नम्बरको बोलेरो जिप र ध.१ प ३५४९ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक–आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रघुगंगा गाउँपालिका–६ पाखापानी बस्ने २३ वर्षीय सन्तोष थजालीको मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, कोहलपुर नगरपालिका–८ बाबानगरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको छ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *