शैली थिएटरमा गाेठालेकाे ‘भुसको आगो’

डिसी नेपाल
१४ मंसिर २०७६ १२:२२

काठमाडौं । एउटा सानो घर । घरको भान्छा कोठामा बेलुकाको खाना पकाउने तयारी चलिरहेको थियो । एउटी अधबैंशे महिला तरकारी काट्दै थिइन् । चुलोमा आगो बलिरहेकोे थियो ।

भान्छाको छेउमै रहेको बैठक कोठामा कुर्सी टेबल राखिएका थिए । छेवैमा एउटा बेड पनि टक्रक्क उभिएको थियो । सिरानीमा एउटा पुरानो रेडियो राखिएको थियो । रेडियोमा समाचार बजिरहेको थियो । समाचार २०१६ सालको थियो ।

यो दृश्य शैली थिएटरमा मञ्चन भइरहेको ‘भुसको आगो’ नाटकको हो । साहित्यकार गोविन्दबहादुर मल्ल ‘गोठाले’ले २०१३ सालमा लेखेको नाटकलाई शैली थिएटरका कलाकारहरुले अझ जीवन्त रुप दिएका हुन् । नाटक नारीप्रधान छ । श्रीमान र घरका अरु सदस्यबाट हेपिएकी एउटी महिलाले माइतमा बसेर गरेको संघर्षलाई नाटकमा देखाइएको छ । परिवारबाट निकालिएकी र पछि शिक्षित भएपछि पुनः भित्र्याउन खोजिएकी प्रमुख पात्रमार्फत पुरुष प्रधान समाजको संकीर्ण दृष्टिकोणलाई छर्लङ्ग पारिएको छ ।

नाटकले मध्यमार्गी पुस्तालाई प्रतिनिधित्व गर्छ । पुरानो सोचलाई तिरस्कार पनि गर्न नसक्ने तर त्यही सोचले निम्त्याएका समस्यालाई सहेर पनि बस्न नसक्ने द्वन्द्वात्मक अवस्थामा एउटी महिला भुसको आगोझैँ बलिरहेको नाटकमा देख्न सकिन्छ । त्यस्तै नाटकले राणाशासनको अन्त्यसँगै २००७ सालमा आएको प्रजातन्त्रपछि नयाँ पुस्ताका महिलाको चेतनामा आएको परिवर्तनलाई उजागर गरेको छ । साथमा पितृ सत्तात्मक समाजमा महिलाको वास्तविक अवस्था नाटकले बोलेको छ ।

नाटकको बलियो पाटो :

यो आफैंमा एक उत्कृष्ट नाटक हो । यसले पितृसत्तात्मक समाजमा महिलाको अवस्था बुझ्न सहज गराउँछ । साथै एउटी नारीको संघर्षको कथाले थुप्रै नारीहरुले हौसला प्राप्त गर्छन् ।

कथामा प्रस्तुत गरिएका पात्रहरु उर्मिला, शारदा, राधा र नानी छोरीको अभिनय सन्तोषजनक छ । नाटकमा सगुन पोखरेलले दोहोरो भूमिका निर्वाह गरेकी छिन् । सरिताको भूमिका निर्वाह गरेकी सगुन र बज्यैको भूमिका निर्वाह गरेकी अस्मिता खनालको अभिनय भने उत्कृष्ट छ । उनीहरुको अभिनयले बेलाबेलामा कमेडीको स्वाद पनि चाख्न पाइन्छ ।

नाटक चिप्लिएको पाटो :

नाटककाे विषयवस्तु उत्कृष्ट छ । विषयवस्तुमा खोट लगाउने ठाउँ छैन । तर नाटकको प्रस्तुतीमा भने निर्देशक अलिकति चिप्लिएका छन् ।
एक ठाउँमा नानी छोरीले अम्खोराबाट पानी सारेको दृश्य छ । तर, त्यहाँ अम्खोरा रित्तो छ । पानी सारेजस्तो गरेर पिएको जस्तो नाटक गरेको प्रष्टै देखिन्छ । जसले म नाटक हेरिरहेछु भन्ने महशुस गराउँछ ।

यस्तै केही साना–साना कमी कमजोरी नाटकमा छन् । अन्यथा नाटक उत्कृष्ट छ । अब तपाइहरुले पुरै नाटक हेर्न भने शैली थिएटरसम्म नै धाउनु पर्ने हुन्छ । नाटक शैली थिएटरमा १५ गतेदेखि ३० गतेसम्म हरेक साँझ ४ः५० बजे मञ्चन हुनेछ । भने शनिबार १ बजे हुनेछ । त्यसका अलावा अन्य दिन बुकिङ शो पनि हुने निर्माण टिमको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *