तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण

डिसी नेपाल
१९ मंसिर २०७६ २०:५६

काठमाडौं। नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो । पुरुष ८७ केजी तौलसमूह मुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन् ।

उक्त तौलसमूहमा बंगलादेशका रसिल खान र श्रीलंकाका चर्मा थरिन्दुले कांस्य पदक जितेका थिए । बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो । भारतका पुर्वा दिक्षितले ४९ केजीमुनि तौलसमूहमा श्रीलंकाकी इरानगनी पुस्पालाई १४–६ ले हराउँदै स्वर्ण जितिन् । सोही तौलमा नेपाली युनिसा राई र श्रीलंकाकी आयसा नुरले कांस्य पदक जिते ।

महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले स्तब्ध बनाइन् । यस तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जितेका थिइन् । भारतकी मार्गेरेट मारियाले स्वर्ण जित्न फाइनलमा मनिता शाहीलाई १५–० ले हराइन् । पाकिस्तानका लागि पुरुषतर्पm हरुन खान र रब नवाजले स्वर्ण जिते ।

हरुनले ५८ केजी तौलसमूहमा भारतका निरज चौधरीलाई २७–१८ ले हराए । यस तौलमा नेपालका गोविन्दबहादुर आले र बंगलादेशका कमरुल इस्लामले कांस्य जित्यो । नवाजले भने पुरुष ८० केजीमुनि नेपालका किरणबहादुर आलेलाई ३३–७ ले हराउँदै स्वर्ण जिते । यस समूहमा भारतका लक्ष र श्रीलंका सुरङ्गा दिहानले कांस्य जिते ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *