भारोत्तोलनमा नेपाललाई कास्य

डिसी नेपाल
२० मंसिर २०७६ २०:१७

कास्की । १३ औं दक्षिण एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत आज भएको भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एक मात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारीले कास्य पदकमा सीमित हुनु परेको छ ।

पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौल मात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् ।

पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्क दबाबमा परेका थिए । प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कूल २६३ तौल उठाउँदै रजत पदक प्राप्त गरे । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

आजै भएको पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कूल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कूल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कूल २६५ तौल उठाउन सफल भएको हुन् । प्रतियोगिताअन्तर्गत नेपालले उद्घाटनको दिन एक स्वर्ण र दुई कास्य पदक भित्राइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *