कविता – “पाप” – डा. रोशा पोखरेल

सांकेतिक तस्बिर


पाप

बुबाले भन्नुभयो, पर जाऊ
आमाले भन्नुभयो, वर नआऊ
सबैलाई छोरी पर सरी भनियो
आज कति दिन हो ? चोखिने कहिले हो?
मादल नै घन्कियो।

दिउँसै अचानक सूर्यलाई छेकियाे
उज्यालो छ भन्दै थिएँ, रात्री पो देखियो
टुँडिखेल जत्रो मेरो कोठा, दुलो जत्रो भेटियो
दिउँसै छ भन्दै थिएँ, भित्तामा पूर्णिमा देखियो
बिझायो सिरानीले, केश मेरो परालैम रेटियो।

कोल्टे फेर्छु यता उता, निदारिले छोप्दैन
ऐया आमा, दुख्यो भन्छु, पाप बग्न किन रोक्दैन!
छताछुल्ल बहिरह्यो, पीडा अझै भइरह्यो
रोक्न खोज्छु मुसलधारा, चोक्टा चोक्टा गइरह्यो।

खस्र्याक-खुस्रुक गरिरहन्छन्
घरी गोबर घरी गौँत, छिनछनमा झरिरहन्छन्
सुलुलुलु गर्छ यता, सुलुलुलु गर्छ उता
गोठमा साँप छ रे, भन्थे बाबै
सायद जताततै सरिरहन्छन्
टल्केका ती गुच्चाहरुले, आँखा मेरा तरिरहन्छन्।

टम्म पारी नानी-नानी, अंगालेर चिसो सिरानी
अर्को कोल्टे फेर्न आँट्दा, पाउजु भए मेरा चिसा
एकैछिनमा मोटएछन्, भए सरै नै कसिला
बिझाउन थाले बेस्सरी, चसक्क चसक्क पैँतालाभरि
गलाको पोते पनि कस्सिन थाल्यो
भयो,
फुकाल्छु भन्छु, हाथ मेरो भाँस्सिन थाल्यो।

पाप अब बग्न रोकिएछ क्यारे
न बाहिर अब बग्ने भो, न भित्र अब सर्ने भयो
परेलीलाइ टालूँ भन्छु,
भारी भए सरै, आँखा उघारै रहने भो
भित्ताको त्यो पूर्णिमा, कुन्नि कति खेर औंशी भो
निन्द्रा देवीले अंगालिन् क्यारे, मीठो सपना सरी भो।

भोलि फेरि झिस्मिसेमै उठ्नुछ
अन्धकारमा नदेखुन् कसैले,
नुहाई-धुवाई पनि गर्नुछ
फेरि ती कान्छा बाबु भोलि पनि आए भने?
अस्ति च्यातेको चोली त सिलाई लाएँ,
फेरि आई अर्कोतिर च्याते भने?
भोलिको बिहान नहोस् प्रभु
म यहीँ नै लडिरहन्छु बरु!

अचानक जिउ किन हल्का भो!
पाइला मेरा भारी छैनन्
लाग्छ हाथ मेरो पखेटा भो
हिजोको पूर्णिमा भन्दा चहकिलो इन्द्रेणी
उज्यालो सूर्यको पनि सट्टा भो।

ढोका उघ्रिएछ कति दिनमा
गाउँले सारा जम्मा भए एकैछिनमा
कुन्नि के भएछ,
सायद बाख्री आज ब्याइछ।
ती आँखाहरुले टुलुटुलु हेरिरहन्छन्
घरी सुनपानी छर्कन्छन्, घरी गौँत छर्कन्छन्
“जेठी पनि त्यसरी नै गई” – पटक पटक भनिरहन्छन्
“पापको भोगी, गई संसार छोडी” – आत्मविलाप गरिरहन्छन्
बुझ्न खोज्छु, कुन्नि के भूल गरिएछ
त्यो लडेको शरीर,
उघारै आँखा, उघारै मुख,
लौन नि!
रगतले ओछ्यान भरिएछ!
निदाएँ भनेथेँ,
सायद, मरिएछ
सायद, मरिएछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो