कथाः नाटक

खेमराज पोखरेल
८ वैशाख २०८१ ७:०२

मण्डला थिएटरमा नाटक हेर्दै थिएँ। नाटकका पर्दा झल्याक झुलुक गरिरहेका थिए। चेपबाट आउने रंगीन प्रकाशले म रोमाञ्चित भइरहेको थिएँ।

कलाकार आफ्नो सिप कौशल देखाइरहेका थिए। सम्भवत म नाटकको प्लटमा डुबेको थिएँ। त्यो नाटकमा मान्छे मान्छे बीचका सम्बन्धलाई देखाइएको थियो। महिला पात्रको डायलग सुन्दै थिएँ। उनी नाटकको पोइलाई भन्दै थिइन्ः

‘के म तिम्रो खरिद गरिएकी माल हुँ?’

नाटकको पोइ उनलाई पिट्दै थियो। सायद ऊ आफ्नो पुरुषसत्ता स्थापना गर्न चाहन्थ्यो होला। ऊ संस्कृति देखाउँदै थियो होला। धर्म देखाउँदै थियो होला। चालचलन सिकाउँदै थियो होला। भाषा भेषको औजार प्रयोग गर्दै थियो होला। बाह्र हाते सारीभित्रको स्वतन्त्रताको वकालत गर्दै थियो होला। सायद ऊ यस्तै यस्तै तिगडम लगाएर कब्जा गर्न खोज्थ्यो होला। उनी चुटाइ खाँदै थिइन्। र झन चर्को स्वरले कराउँदै थिइन्ः

‘गुहार गुहार, ए संसारका मान्छेहरू हो, म स्वतन्त्र हुन चाहन्छु, मलाई स्वतन्त्रता प्यारो छ। मलाई निजी सम्पत्ति नबनाइयोस्। म स्वतन्त्रता चाहन्छु। समान दायित्व चाहन्छु। समान अबसर चाहन्छु। म फुर्र उड्न चाहन्छु। म संसार हेर्न चाहन्छु। म संसार फेर्न चाहन्छु। म समान संसार चाहन्छु। तिम्रा सिर्कनाले म रोकिन्न। एक रोकिन्न। दुई रोकिन्न । तीन रोकिन्न। ए कोही छौ साँच्चिकै मान्छे? गुहार गुहार।’

पर्दा खस्छ। नाटक सकिन्छ। त्यहाँ गुहार सुन्ने कोही मान्छे थिएनन्। गुहार गुहार भनेका स्वरहरू भने म्युजिक मिसिएर हलभरि तरङ्गित भइरहेका थिए।

नाटक घरको प्वालबाट आइरहेको गुलावी बत्तीमा एउटी महिलालाई देखिरहेको थिएँ। नाटकभरि म घरिघरि उसैलाई हेरिरहेको थिएँ । नाटक पनि हेर्थें। ऊ असाध्य राम्री लाग्यो मलाई। हरियो फिका रंगको सारी।

इम्ब्रोइडरी गरिएको ब्लाउज र अति चलाख देखिने आँखाबाट म मोहित भएको थिएँ। ब्वाइजकट कपाल काटेकी। हेर्दै आधुनिक देखिने। अहो मेरी श्रीमतीभन्दा ऊ धेरै राम्री। हुन त मैले मेरी श्रीमती राम्री भनेर बिहे गरेकै होइन। अधिकृत जागिर छ भनेर बिहे गरेको थिएँ। यतिबेला मलाई नराम्रीको पोइ भएकोमा पीडा भएको छ।

मैले उसलाई हेरेर कल्पना गरेँ कि ऊ मेरी श्रीमती भएकी भए क्या दमदार मजा हुन्थ्यो। सबैका आँखा मेरै श्रीमतीकातिर हुन्थे। अहिले त मेरी श्रीमती उही उपसचिव भन्नु मात्र हो। म एकटकले उसैलाई हेरिरहेको थिएँ। ऊ पनि मलाई नै हेरिरहेकी थिई।

श्रीमतीले भनिन्ः ‘के हेरिस्सिएको ट्वाल्ल, हिँडिस्यो’। म हिँडेँ। ऊ त्यो दर्शकदीर्घाको ताँतमा पर देखिई। बाटोमा उभिरहेको स्यान्त्रोमा चढी र ओझेल भई।

०००००

म श्रीमतीसँग नै नाटक हेरेर घर फर्कँदै थिएँ। उदाश थिएँ। मनमा लागिरहेथ्यो कि मैले त्यो महिला पात्रको गुहार सुन्नु पर्दैन! अर्कोतर्फ म उही महिलालाई सोचिरहेको थिएँ। को होली? मलाई उदाश देखेर श्रीमतीले गाडीमै सोधिन्ः ‘होइन, हजुरलाई आज के भयो?’

‘ठिकै छु त। तिमीलाई त्यस्तो लागेको मात्र हो। यो धुवाँ धुलो देख्दिनौ?’ मैले ढाँटे। कुरो अलमल्याएँ। घर पुगेका छौँ। म सोफामा पल्टिएँ। उनी लुगा फेर्न भन्दै कोठातिर पसिन्। माथिदेखि तलसम्म छोपिने म्याक्सी लगाएर आइन्। र मलाई हाफ प्यान्ट र भेस्ट दिँदै भनिन्ः ‘यी लुगा फेरिस्यो’।

उनी पनि सोफामा बसिन् र म्याक्सीलाई घुँडासम्म तानेर हल्लाइन्। उनका व्याक्स गरिएका सेता पिँडुला देखिए। गुम्सिएको पसिनाको हरक नाकैको छेउबाट गयो। उनले भनिन्ः ‘हेरिस्यो न हजुर, यो काठमाडौँमा पनि कस्तो गर्मी भ’को’।

मैले त्यही बैठक कोठामा प्यान्ट खोलेँ। सोफामै फ्यात्त फालेँ र हाफ प्यान्ट लगाएँ। उनले सोफामा फालिएको मेरो लुगा उठाइन् र कोठामा लगेर थन्क्याइन्। म सोफामै बसिरहेको थिएँ। उनले भान्साबाटै कराइन्ः ‘हजुर, भनिस्यो त, मिल्क टी खाने कि ग्रिन टी’

म सोचिरहेको छु। बेपर्वाह सोचिरहेको छु। के म र मेरी श्रीमती समान छौँ? के हामी समान स्वतन्त्र छौँ? उनले र मैले पढेकोे विषय समान हो।

उनको र मेरो जागिर समान हो। यी छोराछोरीहरू हाम्रा समान कर्मले जन्मिएका हुन्। समान उच्छवासले हुर्किएका हुन्। तर म फरक देखिरहेको छु। म गर्मी भयो भनेर हाफ प्यान्ट लगाउँछु। उनी म्याक्सी लगाउँछिन्। म फर्मलमा सजिलो सुट लगाउँछु। उनी बाह्रहाते बेर्छिन्। म उनलाई तिमी भन्छु। उनी मलाई हजुर भन्छिन्। म रातबिरात जहाँ गए पनि स्वतन्त्र छु। उनी जान सक्तिनन्। जुनबेला म बाहिरी स्वतन्त्रताको उपयोग गरिरहको हुन्छु, उनी घरभित्र दायित्व निर्वाह गरिरहेकी हुन्छिन्। उनका नाक कान छेडिएका छन्। समाजले उनको मुख थुनेको हुन्छ।

मैले श्रीमतीलाई भनेँः ‘सुन त, अब तिमी पनि मलाई ‘तिमी’ भन। तिमी पनि हाफ प्यान्ट लगाऊ। अफिस जाँदा सर्ट प्यान्ट वा सुट लगाऊ’

उनले भनिन्ः ‘आज कस्तो बेगलकाँटे कुरा गरिसिएको हजुरले? आज हेरेको नाटकको प्रभाव परेको होला। हजुर कुरा बुझिस्यो न, त्यो नाटक हो। रियल लाइफ होइन।’

मलाई कहिलेकाहिँ आफ्नै श्रीमती देखेर हाँस उठ्छ। कस्ती ट्रेडिस्नल होली। मोडरनिटी किन नपचेको होला! पूर्ण स्वतन्त्रता किन न खोजेको होला! कति धेरै सम्झ्यौता गरेकी होली जीवनसँग। परिवारसँग। समाजसँग। संस्कारसँग। कुसंस्कारसँग। अन्धविश्वाससँग। परिवेशसँग र चलनसँग। मलाई त यो अचम्म लाग्छ कि उनी किन यस्ती?

उनीसँग त यौनबारे खुलेर गफ गर्न पनि पाइन्न। यसो कुरा सुरु गर्यो भने उनी मलाई भन्छिन्ः ‘हजुरलाई कति छिल्लिन आउँछ हगि?’
०००

अफिसपछि केही सपिङ गर्नु पर्यो भनी महाराजगञ्जको भाटभटेनी सुपर मार्केटको कम्पाउन्डभित्र गाडी पार्किङ गर्दै थिएँ। पार्किङ गरेर एकजना महिलालाई गाडीबाट निस्कँदै गरेको पछाडिबाट देखेँ। सर्लक्क परेको पिठ्यू देखेर हेरिरहुँ जस्तो लाग्यो। उसका अगाडिको भाग झन कस्तो होला भनी खुल्दुली लाग्यो। ऊ मपट्टि फर्की।

सुन्दर अहो कति सुन्दर। पहिलो नजर उसका छोपिएका छातिमा पर्यो। तत्क्षण नै मैले उसको अनुहार हेरेँ। अहो ऊ त उही मण्डला थिएटरमा देखिएकी सुन्दरी रहिछे।
म परिचय गर्न आतुर थिएँ। मैले हतार हतार कुरा अघि बढाएँः ‘मैले हजुरलाई कहीँ देखेजस्तो लाग्यो। चिनेकोजस्तो लाग्यो।’

उसले प्रत्युत्तर फर्काईः ‘खोई?, ए ए मन्डला थिएटरमा नाटक हेर्दा देख्नु भएको हो, हजुर मलाई हेरिरहनु भएको थियो। म पनि हेरिरहेकी थिएँ। बाइद वे म शिवानी राणा, अर्थ मन्त्रालयमा उपसचिव छु’

अब परिचय दिने पालो मेरो थियो। तर म मनमनै सोच्दै थिएँ कि उपसचिव पनि राम्रा हुँदारहेछन् त। मेरी श्रीमती चाहिँ किन नराम्री?’

म टोलाएको देखेर उसले फेरि प्रश्न गरीः ‘अनि हजुर?’

म आत्तिएँ। तर पनि भनेँः ‘म कृषि मन्त्रालयमा सहसचिव छु, म दिनेश मरहठा’

०००

हामीले काठमाडौँका सबैजसो नाम चलेका रेस्टुरेन्टमा सँगै चिया खाएका छौँ। कफी खाएका छौँ। लन्च गरेका छौँ। डिनर गरेका छौँ। र हामी कुरा मिल्ने असल मित्र बनेछौँ। हामी बिच फोन बाक्लो हुन थालेको छ। कुरा बाक्लिन थालेका छन्। हामी बीचको सम्बन्ध विस्तारै हजुरबाट तपाईँ र तिमीमा क्रमस झरिसकेको छ।

म उसलाई ओपेन हर्टेड पाउँछु। त्यसैले ऊसँग बोल्न कुनै आइतबार पर्खनु पर्दैन। कुनै रिस्क छैन। कुनै संकोच छैन। हामी जीवन दर्शनका सबैखाले विषयवस्तुमा खुलेर छलफल गर्छौँ। जीवनका बाहिरी पत्र मात्र होइन हामी यौनका भित्री पत्र पनि केलाउँछौँ। मेरो यो सम्बन्ध थाहा पाएका साथीभाइ भन्छन्ः ‘राणाजी हो सिध्याउली है’।

म अचम्म मान्छु के सिध्याउने हो कुन्नि? सिध्याउनु भनेको के हो कुन्नि? के ऊसँग मेरो यौन सम्बन्ध भएमा म सिद्धिन्छु?, म किन सिद्धिनु? म बुझ्छु साथीभाइका कुरा र बुझ्दिन पनि। बेपरवाह हरफनमौला तालमा दगुरेको हुन्छु। एकदिन शिवानीले भनीः ‘एउटा प्रश्न सोध्छु, उत्तर दिन्छौ दिनेश?’

उसको प्रश्न मलाई खासमा केही लाग्दैनथ्यो। तर पनि भनेँः ‘अरे यार, सोध न तिमीले मलाई सोध्न के बाँकि छ र ? साइत हेरेर भूमिका बाँध्नु पर्छ त?’

उसले भनीः ‘दिनेश यो लोग्ने मान्छेको जात शारीरिक रूपले बलियो पनि छ, बुद्धि पनि छ, आँट पनि छ, संसार हाँक्छु भन्छ। तर जब एउटी आइमाई देख्छ ऊ किन स्वालात्त सकिन्छ? । तिमी त लोग्ने मान्छे हौ, मलाई भन त’

म गुनिरहेको छु । के भनूँ शिवानीलाई? हुन पनि हो मजस्तो सामाजिक करियर भएको मान्छे त स्वालत्त हुन्छु भने न भोक न भकारी भएकालाई त झन के फरक पर्छ र!

चिया दोकानकी साहुनीलाई घेरेर दिनभरि बस्छ लोग्ने मान्छे।

उसले फेरि मलाई नै भनीँः ‘तिमीसँग जवाफ छैन हगि दिनेश’

मैले अत्तालिएर जवाफ दिएँथेँः ‘आइमाई आगाको ज्वाला हो, ममबत्ती जति सारो भएपनि पग्लिहाल्छ नि’

‘यस्ता फिलोसोफिकल कुरा नगर न दिनेश, ठ्याक्कै भन न, तिमी मेरो के देखेर लोभिन्छौ र मेरो वरिपरि घुम्छौ?’

‘हेर शिवानी, तिम्रो सबैकुरा राम्रा छन्। रूप। अन्दाज। सोच। अंग। र कुल मिलाएर सेक्सी’

‘अनि तिम्री श्रीमतीमा के छैन र तिमी भड्किरहन्छौ। कुदिरहन्छौ। मृग मरुचिका।’

‘तिमीसँग जस्तो केही छैन’

‘होइन, यो तिम्रो भ्रम हो। तिमी मलाई नङ्ग्याएर हेर र घरमा गएर आफ्नी श्रीमतीलाई पनि नङ्ग्याएर हेर। उस्तै पाउँछौ। उही अंग प्रत्यांग। कि गोरो होला कि कालो होला। कि अलि ठूलो होला कि सानो । बाकिँ उही डिजाइन’

म सोचमग्न भएको छु। यो शिवानी यति राम्री छे। तर उसको श्रीमान् बाहिर चाहारेर हिँड्छ भन्छे शिवानी। किन यो अर्काकी श्रीमती मन पर्ने होला लोग्ने मान्छेलाई। म सोच्दै थिएँ।

उसले भनीँः

‘हामीले चाह्यौ भने तिमी र म बिच शारीरिक सम्बन्ध हुन सक्छ कि सक्दैन?’

अनि मैले भनथें: ‘यो यौन सम्पर्कलाई समाजले ज्यादै जटिल बनाइदिएको छ। दुई विपरीत लिंगको आकर्षणबाट हुने प्राकृतिक क्रिया न हो यो’

‘तिमी जहिले पनि फिलोसोफिकल उत्तर दिन्छौ। दुवै अर्थ लाग्ने। प्रष्ट भन न, हुन्छ कि हुन्न?’

म के भनूँ भनूँ भएँ। उसलाई भोग्न त मन छ नै। तैपनि फ्याट्ट भन्न त भएन। त्यसैले जोगिएर उत्तर दिएँः ‘विपरीत लिंगी साथी भन्ने बित्तिकै यौन सम्पर्क नै हुनु पर्छ र?’

‘तिमी बडो कुटनीतिक उत्तर दिन्छौ। हामीले चाह्यौ भने हाम्रा बीच शारीरिक सम्पर्क किन हुन सक्तैन र?, सक्छ’

मैले आशावादी नजरले उसलाई हेरेँ। उसले मेरो नजर पढी। र हाँस्दै भनीः ‘हेर हेर मुख मिठ्याएको। कस्तो गिद्धे दृष्टि तिमी लोग्ने मान्छेको’

मैले भनेँः ‘ए शिवानी, यसलाई अति सामान्य लिए हुन्न?’

उसले भनीः ‘हुन्छ, किन हुन्न? तर यो यौन सम्बन्ध भएपछि अरू सम्बन्ध के बाँकी रह्यो र?, त्यो पर्तिर उच्छवास पस्कने सम्बन्ध केही रहन्छ र?’
म अलमलमा परेँ। उसले म अलमलमा परेको कुरा बुझी र भनीः

‘ए दिनेश तिमी मुर्ख रहेछौ। गएर श्रीमतीलाई छाम। तिमीमा कुनै झट्का हुन्न। कुनै तरंग हुन्न। किनकि तिमीले श्रीमतीको हेर्न बाँकी र छाम्न बाँकि केही छैन। गर्न बाँकि केही छैन। त्यसैले तिमीमा कुनै प्रकारको फिल हुन्न। तर तिमी मलाई समात। अझ नजानिदो गरेर छोऊ तिमीमा करेन्ट लाग्छ। अझ तिमीले कहिल्यै नछोएकी कुनै युवतिलाई छोयौ भने हत्केलाले नै करेन्ट दिन्छ’

शिवानीले भनिरहीः ‘हो त्यसकारणले तिमी र मैले शारीरिक सम्पर्क गर्न हुन्न। यसको कारण हामी विवाहिता हुनु मात्र होइन। साथीत्व नै सकिन्छ। त्यसपछि तिमी केबल लोग्ने मान्छे रहन्छौ। र म स्वास्नी मान्छे। हामीमा उच्छवास कहाँ बाँकी रहन्छ र? हामीमा आकर्षण कहाँ रहन्छ र?’
०००

मैले घर पुगेर श्रीमतीलाई छामेँ। उसलाई सबैतिर छामेँ। अहँ केही भएन। कुनै फिल भएन। झट्का पनि दिएन। उनले सुधी गाईजस्तै मलाई छाम्न दिइरहिन्। बरु तुरुन्त भनिन्ः ‘आज हजुरलाई बेला न कुबेला मुड चलेको छ कि क्या हो?, बेला त हुनु पर्यो नि हौ’।

धेरै दिन पहिले मेरी श्रीमतीले भनेको कुरा सम्झिरहेको छुः ‘बिहे पहिला कुनै केटासँग झुकिकएर छोइयो भने आङ फुल्थ्यो। डर लाग्थ्यो। काउकुती लाग्थ्यो। अहिले हजुर पनि लोग्ने मान्छे नै हो। तर हजुरको जहाँ छोए पनि आफ्नै अंग छोएजस्तो लाग्छ किन होला?’

म सोफामा पल्टिरहेको छु। यो सोफामा पल्टेपछि अनेकौँ तरङ्गहरू आउँछन्। अहिले पनि मण्डला थिएटरमा महिला पात्रले गुहार गुहार भनेको तरंग आइरहेको छ।

झल्को आइरहेको छ। कोही मान्छे गुहार सुन्ने थिएनन्। मैले सुने र बुझ पचाएँ। मान्छेले सुन्यो र तर्कियो। समाजले हेर्यो र नदेखेझैँ गर्यो। परिवेशले बुझ्यो र हाँस्यो। स्वतन्त्रता करायो र सुत्यो। मान्छे मान्छे बीचको चेतले ल्याइदिएको स्वतन्त्रताको र मानवीय सम्बन्धले बनाएको रेखाले अचेल त लाग्न थालेको छ। संसारका कोही पनि स्वतन्त्र छैनन्। हुन सक्तैनन्।

मलाई चिट्चिट् पसिना आएको रहेछ। श्रीमतीले कोठाभित्रबाट बोलाइन्ः

‘चाँडै आउनू, नत्र म सुत्छु’

‘आएँ आएँ’ म कोठामा जाँदै छु।

कोठाभित्रै पुगेपछि उनले फेरि भनिन्ः ‘हजुर अस्तिनैको नाटक दमदार थियो हगि?’
म सोच्दै छु। हो त नि म पनि दमदार नाटक खेल्दै छु। जागिरको नाटक। पतिको नाटक। प्रेमीको नाटक। स्वतन्त्रताको नाटक। नाटकै नाटक।

कोठामा पुगेर लुगा खोल्दै छु।

श्रीमतीले भनिन्ः ए हजुर हामी पनि नाटक खेल्ने है’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *