तनहुँको दुलेगौँडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

डिसी नेपाल
२४ मंसिर २०७६ ९:०५

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ ।

ट्रायाक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २५ करोडको लागतमा उक्त मार्गमा कालोपत्र शुरु भएको हो।

भौतिक पूर्वाधार विकासमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त मार्गमा कालोपत्रको कामको शिलान्यास गर्दै तोकिएकै समयमा गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकतामा राखेको बताउँदै विकास निर्माणमा ढिलासुस्ती र बहानाबाजी नचल्ने बताए ।

प्रदेशसभा सदस्य आशा कोइरालाले सो सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र गर्ने वर्षौँदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

पूर्वाधार विकास कार्यालय नवलपुरले सडक कालोपत्रका लागि शङ्कर माली कन्स्ट्रक्शन प्रालिसँग सम्झौता गरेको छ।

रु २५ करोड १० लाख ६० हजारको लागतमा १० किमी मोटरमार्ग कालोपत्र हुन लागेको कार्यालयका दमौली एकाइ प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।

विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको उक्त मार्गमा विसं २०७८ माघ १० गतेसम्म कालोपत्र सम्पन्न गर्ने म्याद छ।

शुक्लागण्डकी नगरपालिका–म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त सडकको दूरी २३ किमी छ।

पहिलो चरणमा १० किमी सडक कालोपत्र हुनेछ। सडकको आठदेखि नौ मिटर चौडाइमा साढे पाँच मिटरको कालोपत्र हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *