आर्थिक समृद्धिको आधार पर्यटन : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
२४ मंसिर २०७६ १६:२४

चितवन । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को मंगलबार शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नु पर्ने बताए ।

मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए। उनले भने,“चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौ ।”

मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेको बताए । करिव ५ सय ५० बिघाहा क्षेत्रफलमा निर्माण हुने सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको दुई तले गैंँडाको मूर्ति निर्माण हुनेछ । मूर्तिकोभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार सङ्ग्रहालय र बहुजातीय सङ्ग्रहालय तयार हुनेछन् ।

गैँडाको मूर्ति तयार गर्न २ करोड ८९ लाख ४४ हजार खर्च लाग्ने जनाइएको छ । उद्यान सम्पन्न गर्दा २३ करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जङ्गल सफारी, असाहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुने छन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले मेघौली क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको चर्चा गर्दै राईनो उद्यानले समग्र जिल्लाको पर्यटन विकासमा सहयोगी हुने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका – २७ का अध्यक्ष गोविन्द तामाङ्, वडा नं–२८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरी लगायतले मेघौली क्षेत्रको पर्यटनको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञविश्व सुवेदीले शिलन्यास भएको मेघौली गैँडा उद्यान र यसक्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराए। कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ्, कुमाल र तामाङको झाँकी एवं सारङ्गी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *