अधिकार रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नु आवश्यक : मुख्यमन्त्री राउत

फाइल फोटो-


जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारको रक्षाका सवाललाई व्यवहार र आचरणमा प्रदर्शन गर्नुपर्ने बताएका छन् । ७१औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं २ कार्यालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले आफ्नो अधिकारको संरक्षण गर्दा अरूको अधिकार हनन गर्न नहुने कर्तव्य पनि निर्वाह गर्नु आवश्यक छ भन्दै उनले आफू आनन्दित हुने र अरूलाई दुःख पु¥याउने गतिविधि गर्न हुँदैन भने ।

मुख्यमन्त्री राउतले सभ्य समाज, समृद्ध राष्ट्र र आदर्शमुखी आचरण सन्दर्भमा मानव अधिकारको सवाल महत्वपूर्ण रहेकाले यसप्रति सबै सजग हुनु जरुरी भएको बताए । उनले अधिकारको प्रयोग गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै यसको संरक्षण आ–आफ्नो स्तरबाट गर्नुपर्ने धारणा राखे।

प्रदेशका मुख्य सचिव रामकृष्ण सुवेदीले मानव अधिकारको रक्षाका बारेमा सरकारमाथि मात्र आश्रित नभई आफू र आफ्नो घरलाई भुल्न नहुने बताए । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल जिल्लामा महिला र बालबालिकाको अधिकार हनन, हिंसा, फिरौती, बलात्कार, हिंसा, यौनजन्य, दाइजोसँग सम्बन्धित घटना अधिक हुने गरेको बताए ।

आयोगका कार्यालय प्रमुख वीरबहादुर बुढामगरको अध्यक्षतामा भएको सो कार्यक्रममा एडभोकेसी फोरमका राजकुमार महासेठ, इन्सेकका राजु पासवान र थर्ड एलाइन्सका विनोद महरा तथा मानव अधिकार महाभेलाका संयोजक धीरेन्द्रबहादुर सिंहले प्रदेश नं २ मा गैरन्यायिक हत्याका घटना बर्सेनी बढ्दै गएकोप्रति ध्यानाकर्षण गराए ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position