जुम्लाका आगलागी पीडितका लागि राहत सङ्कलन

डिसी नेपाल
२८ मंसिर २०७६ २०:००

काठमाडौं । आगलागी भएको घर परिवारका लागि जुम्लामा राहत सङ्कलन शुरु भएको छ ।

जुम्ला चन्दननाथ नगरपालिका–२ का गोविन्द भण्डारीको आगलागीबाट दुई करोड बराबरको घर जलेर नष्ट भएको थियो । घरको बीमासमेत नभएका कारण धेरै ठूलो क्षति व्यहोरेकाले अहिले घर धनी भण्डारी राहत माग्दै सरोकारवाला निकायसँग अपिल गरिरहेका छन् ।

भण्डारीको घरको ठूलो क्षति भएको भन्दै लाइन्स क्लबले ४० हजार सहयोग स्वरुप प्रदान गरेको छ । क्लबले चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालको रोहवरमा प्रदान गरिएको अध्यक्ष गणेश रोकायाले बताए । उनका अनुसार धेरै नै क्षति भएर मन पोलेपछि सानो सहयोग प्रदान गरिएको हो ।

यसैगरी, चन्दननाथ नगरपालिकाले ६० हजार राहत उपलब्ध गराएको छ । गत मङ्सिर ८ गते जलेर नष्ट भएको घर जिल्ला प्रहरी कार्यालयका अनुसार एक करोड ७३ लाख ३० हजार ५०० को धनमाल, घर तथा भौतिक पूर्वाधारमा क्षति भएको छ । भण्डारीको नगद दुई लाख ५० हजार र गरगहनासहित विभिन्न सामग्री तथा घर जलेर नष्ट भएको थियो । यति ठूलो क्षति हुँदा पनि सरकारी निकायबाट राहतको प्राथमिकतामा नपर्दा अहिले राहत सङ्कलन अभियान शुरु गरिएको छ । आधिकारिक ट्रेड युनियनले रु २० हजार सहयोग गरिएको अध्यक्ष खडानन्द चौलागाईले बताए ।

राहतका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेका भण्डारीलाई प्रतिष्ठानले व्यक्तिगतरुपमा राहत प्रदान गर्न अभियान थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले भने । प्रतिष्ठानमा २७३ कर्मचारी छन् ।

स्थानीय विपत् व्यवस्थापन समितिले आर्थिक अभावका कारण राहत दिन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । भण्डारीको क्षतिमा मलम लगाउन अभियान तीव्र पार्नुपर्ने जागौँ कर्णालीका कार्यरत युवा गोविन्द सुनारले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *