जङ्गली हात्तीले मानवीय क्षति पुर्‍याउन थालेपछि बच्ने उपायको खोज्दै स्थानीए

डिसी नेपाल
२९ मंसिर २०७६ १७:११

कञ्चनपुर । जङ्गली हात्तीको बथानले मानवीय क्षति पुर्‍याउन थालेपछि कञ्चनपुरका स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् । हात्तीको आनीबानीबारे जानकारी नहुँदा स्थानीय बासिन्दा आक्रमणमा पर्न थालेका हुन् ।

दुई महिनाको अवधिमै हात्तीको बथानले तीन जनामाथि आक्रमण गरी ज्यान लिनुका साथै पाँचजनालाई घाइते बनाएपछि यहाँको जनजीवन त्रसित बनेको छ । घरमै आएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा हात्तीबाट जोगिने उपायको खोजीमा लागेका छन् ।

हात्तीबाट स्थानीय बासिन्दाले जोगिने एक मात्रै उपाय सावधानी अपनाउनु रहेको छ । हात्ती धपाउनका लागि कञ्चनपुरका स्थानीय किसान रातभर जाग्राम बसेर आगो बाल्ने, होहल्ला गर्ने र पटका पड्काउने गरे पनि यी क्रियाकलापबाट हात्तीको बथानले डराउन छोडेको छ ।

यी सबै कार्यमा हात्ती अभ्यस्त भइसकेको छ, लालझाडी मोहना संरक्षित वन नजिकै बस्दै आएका मङ्गल चौधरीले भनिन्, “खेतमै हात्ती भगाउन बसेका हुन्छौँ । कतिखेर खाएर जान्छ पत्तो लाग्दैन । हात्ती आएको थाहा पाए पनि पूरै आहारा खाएरै फर्किने गर्दछ ।”

पहिला हात्ती देखेर टाढैबाट भाग्ने स्थानीय बासिन्दा हात्ती भगाउन नजिकै जाने गरेकाले पनि हात्तीको आक्रमणमा परेर घाइतेसमेत हुने गरेको उनको भनाइ छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडेल हात्तीबाट जोगिनका लागि सुरक्षित तरिकाले बस्नुपर्ने बताउछन् ।

उनले भने, “राति परेपछि मात्रै बस्तीमा छिर्ने भएकाले त्यसबेला गैरघातक तरिकाले हात्तीलाई भगाउन सकिन्छ ।” हात्ती ठूलो जनावर भएकाले पक्रेर अन्यत्र मानवबस्ती भन्दा टाढाको वन क्षेत्रमा लैजान नसकिने भएकाले हात्तीको बथान बस्तीमा छिरेमा चोकचोकमा आगो बाल्ने, हात्ती छिर्ने ठाउँमा उज्यालो बनाएर भगाउन सकिने उनले बताए ।

हात्ती वन क्षेत्रमा झाँडी र घाँसे मैदानमा शान्तसँग बस्ने गरेकाले कुन क्षेत्रमा छ भनेर ठम्याउन नसकिने हुन्छ । हात्ती वन क्षेत्रमा रहेको जानकारी पाउदापाउँदै पनि जोखिम मोलेर घाँस दाउरा र वन क्षेत्रको बाटो प्रयोग गरी हिँडडुल गर्ने कारणले पनि मानवीय क्षति बढी हुन थालेको संरक्षणकर्मीको भनाइ रहेको छ ।

एक्लै रहेको मत्ताहात्ती र छावासहितको हात्तीले मान्छेमाथि आक्रमण गर्ने गरेको पाइएको छ । ढोइको खोजीमा रहने मत्ताले मानिसलाई देखे लखेटने गर्दछ । बथानमा छावासहितको पोथी हात्तीले भने छावामाथि आक्रमण हुनसक्ने सङ्केत पाए मात्रै आक्रमणमा उत्रिने गरेको छ ।

निकुञ्जसँगै जोडिएका सामुदायिक वन संरक्षण भएपछि हात्तीले यिनै क्षेत्रलाई बासस्थानका रुपमा प्रयोग गर्न थालेको छ । विगत वर्षमा हात्तीको बथान धानबाली पाक्ने बेला मात्रै यस क्षेत्रमा पुगी केही महिनापछि भारतीय दूधुवा नेशनल पार्कतर्फ फर्किने गरेको थियो ।

हाल हात्तीको बथान चुरे क्षेत्रका वनमा अझैसम्म बसेको छ । पर्याप्त आहार र सुरक्षित वासस्थान भएकाले हात्तीले यस क्षेत्रमा बस्ने गर्न थालेको अधिकृत पौड्यालको भनाइ छ । उनका अनुसार बर्दियादेखि कञ्चनपुरको चुरे क्षेत्र हात्ती हिँडने पुरानो जैविक मार्गसमेत हो ।

हात्तीको हिँडने जैविक मार्ग मासेर बस्ती बसेपछि हात्तीले उपद्रो मच्चाउने गरेको छ । हात्ती भगाउनका लागि पुच्छर पक्रेर लठ्ठी, ढुङ्गालगायतले हिर्काउने, नजिकै गएर जिस्क्याउनेलगायतका कार्य गर्दासमेत हात्ती बढी आक्रामक हुन थालेका हुन् ।

हात्ती संरक्षित जनावर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार हात्ती संरक्षित जनावरका रूपमा रहेको छ । विश्व संरक्षण सङ्घ (आइयुसिएन)ले हात्तीलाई सङ्कटापन्न जनावरको सूचीमा सूचीकृतसमेत गरेको छ ।

हात्ती नियन्त्रणका लागि जङ्गली हात्ती हिँड्ने जैविक मार्गको सम्पर्क टुटेको क्षेत्रलाई पुनः जोड्नका लागि सरकारले प्रयास गर्नुपर्ने देखिन्छ । त्यस क्षेत्रमा रहेका मानव बस्तीलाई अन्यत्र सारेर हात्तीको आवागमनलाई सहज बनाउनु पर्नेहुन्छ । बस्तीलाई स्थानान्तरण गर्न नसकिने अवस्थामा हात्ती प्रवेश गर्ने क्षेत्रका बासिन्दाले हात्तीले नोक्सानी नगर्ने किसिमका अन्नबाली र जडीबुटी खेतीलाई बढावा दिनुपर्ने हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *