जासुसीको आरोपमा अमेरिकाद्वारा दुई चिनियाँ कुटनीतिज्ञ निष्कासित

डिसी नेपाल
३० मंसिर २०७६ १:४४

वाशिङ्टन। संयुक्त राज्य अमेरिकाले दुईजना चीनियॉ कुटनीतिक कर्मचारीहरुलाई देश निकला गरेको छ । देशबिरुद्ध जासुसी गरेको आरोपमा उनीहरु अमेरिकाबाट निस्कासनमा परेका हुन् । सैनिक बेससम्बन्धी उल्लंघनको आरोप लागेका ती दुईजना चीनियॉ कुटनीतिक कर्मचारीहरुलाई झण्डै तीन महिनाअघि अर्थात् सेप्टेम्बरमै देश निकलाको आदेश दिइएको थियो। न्यूयोर्क टाईम्सले आइतबार प्रकाशित गरेको समाचारअनुसार संयुक्त राज्य अमेरिका र चीन दुबैले यो घटनालाई गोप्य राखेका छन् ।

ती दुई चिनियाँ कुटनीतिज्ञले भर्जिनियाको एक संवेदनशील सैन्य अड्डाको जासुसी गरेको अमेरिकाको दावी रहेको छ।

अमेरिकी अधिकारीहरुले जनाएअनुसार, ती दुईजना मध्ये एकजना जासुसी अधिकारी थिए। जो आफ्नो परिवारसहित कुटनीतिज्ञको आवरणमा थिए।

वाशिङ्टन र बेइजिङबीच भू–राजनीतिक र आर्थिक प्रतिद्वन्द्विता बढेको बेला चीनले अमेरिकामा जासुसी गरेको देखिएपछि ट्रम्प प्रशासनको चिन्ता बढेको न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी खुफिया अधिकारीहरुले गरेको दाबीअनुसार, अन्य देशभन्दा चीनबाट जासुसीको खतरा धेरै छ।

अमेरिकी अधिकारीहरुले चिनियाँ कुटनीतिज्ञको आवरणमा फेला परेका संदिग्ध चिनियाँ जासुस त्यसको एक उदाहरण भएको बताए। १९८७ मा अमेरिकाले दुईजना चिनियाँ कुटनीतिज्ञलाई निष्कासन गरे यता अमेरिकाले बेइजिङमाथि निगरानी बढाइरहेको छ। बेइजिङले घुसपैठ गराएको अमेरिकी दावी छ।

संसारका दुई सबैभन्दा ठूला अर्थतन्त्र भएका मुलुक र रणनीति प्रतिद्वन्द्वीबीच यो जासुसी प्रकरणले थप तनाव बढाउने देखिएको छ। त्यसै पनि चीन र अमेरिकाबीच हाल सम्बन्ध राम्रो छैन। दुई देश व्यापार युद्धमा होमिएका छन्। २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमाथि कर बढाएपछि व्यापारिक तनाव शुरु भएको थियो।

१६ अक्टूबरमा अमेरिकी सेनाको शिविरमा चिनियाँ जासुसले घुसपैठको प्रयास गरेपछि अमेरिकाले चिनियाँ कुटनीतिज्ञको गतिविधिमाथि निगरानी बढाएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। चिनियाँ कुटनीतिज्ञले राज्यका अधिकारी, शैक्षिक र अनुसन्धान संस्थानसँग बैठक गर्नुअघि अनुमति लिनुपर्ने अमेरिकाले जनाएको छ। अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले यो नियम सबै चिनियाँ एजेन्सीहरुमा लागु हुने बताएका छन्।

अमेरिकाको यस्तो प्रतिबन्धबारे चीनले कडा टिप्पणी गरेको छ। चीनले भनेको छ, ‘यस्तो प्रतिबन्ध भियाना कन्भेशन विरुद्ध छ।’ दुईजना अमेरिकी अधिकारीले यस प्रकारको प्रतिबन्धमा हाललाई केही खुकुलो पारिएको बताएका थिए। तर, पछिल्लो प्रकरणले फेरि चिनियाँ कुटनीतिज्ञमाथि कडाई हुने देखिएको छ।

वाशिङ्टनस्थित चिनियाँ दूतावासले दुईजना कुटनीतिज्ञको निष्काशनबारे औपचारिक प्रतिक्रिया दिन मानेको छैन। तर, एक अधिकारीले ती दुईजना कुटनीतिज्ञ भुलबस सैनिक शिविरसम्म पुगेको बताएका छन्। (न्यूयोर्क टाइम्सको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *