सडकमै खाऔँ, सडकमै रमाऔ, पोखरा जाऔँ …

डिसी नेपाल
३० मंसिर २०७६ ७:१५

चितवन। पोखरामा हुन लागेको सडक महोत्सव प्रचारप्रसारको टोली चितवन आइपुगेको छ । भ्रमण वर्षको उपलक्ष्यमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले अगामी पुस १२ गतेदेखि १६ गतेसम्म पर्यटकीय केन्द्र लेकसाइटको तीन किलोमिटर क्षेत्रमा २१औँ सडक महोत्सव आयोजना गर्दैछ ।

रेवानद्वारा आइतबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको जानकारी गराइएको थियो । यस वर्षको महोत्सव सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन २०२० को शुभारम्भसँगै हुँदैछ ।

यसको प्रचारप्रसारका लागि रेवानको टोली इटहरी, जनकपुर हुँदै चितवन आइपुगेको हो । महोत्सवका सहसंयोजक नरेश भट्टराईका अनुसार रु ७० लाखको हाराहारीमा खर्च गरी आयोजना गर्न लागिएको सो महोत्सवमा रु ८५ लाख बराबरको आम्दानी हुने जनाइएको छ । महोत्सवको मुख्य आकर्षक राष्ट्रिय तथा अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रम, नेपालको लोपोन्मुख सांस्कृतिक कार्यक्रम तीन किलोमिटर सडकमा रहेका स्टेजमा प्रदर्शन गरिने, सडकमा नै राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाका परिकार रहेका छन् ।

यस्तै हस्तकला प्रदर्शनी, विभिन्न मनोरञ्जनात्मक खेलकूदका कार्यक्रम, साहसिक पर्यटन खेलकूद वृत्तचित्र प्रदर्शनी, बालउद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शनीलगायतका रहेको उहाँले जानकारी दिए।

सो महोत्सवमा चितवन, काठमाडौँ, वीरगञ्ज, भैरहवा, जनकपुर, लुम्बिनीलगायतका जिल्लाबाट र छिमेकी देश भारतको लखनउ, गोरखपुरबाट पर्यटक आउने विश्वास गरिएको छ।
सडकमा नै विभिन्न प्रकारका दुई हजारभन्दा बढी कक्ष रहने सो महोत्सवमा खानाको परिकारसँगै रमाउन सकिने छ । पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीसँगै मिलेर लागेको रेवान पोखरा महोत्सव प्रवद्र्धन समितिका संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए।

रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले पोखराको पर्यटन प्रवद्र्धनसँगै ती पर्यटकलाई चितवन ल्याउनका लागि सहकार्य भइरहेको बताए। पोखरामा हुने यस महोत्सवमा चितवनको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराइने उहाँले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *