कलाकारको नजरमा केशव भट्टराई : सारङ्गीको तार छिनेको जस्तो अनुभूति भयाे

डिसी नेपाल
१ पुष २०७६ १४:५०

काठमाडौं। नेपाली चलचित्र क्षेत्रलाई ठूलो बज्रपात परेको छ। चलचित्र क्षेत्रले लगातार दुई दिनमा दुईजना होनहार कलाकार गुमाएको छ। गएको शनिबार अभिनेता दीपक क्षेत्रीको निधन भयो, भने आइतबार राति एक कुशल अभिनेता, निर्माता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भयो।

अहिले यी दुई कलाकारको निधनले चलचित्र क्षेत्र शोकमा डुबेको छ। सोमबार भट्टराई र क्षेत्रीको पार्थिव शरीर चलचित्र विकास बोर्डको प्राङ्गाणमा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो। जहाँ सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रद्धाञ्जली अर्पण गरेका थिए।

साथै चलचित्र क्षेत्रका दिग्गज निर्माता, निर्देशक, कलाकारहरुसँगै हजारौं व्यक्तिहरु श्रदाञ्जली दिन उपस्थित भएका थिए। त्यसपछि भट्टराईलाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मान प्रदान गरिएको थियो। लगत्तै भट्टराई र क्षेत्रीको अन्त्यष्टि गरिएको थियो।

भट्टराईले निर्देशक तुलसी घिमिरेको ‘तुलसी’ चलचित्रबाट अभिनयको सुरुवात गरेका थिए। यस चलचित्रमा उनको एउटा सानो भूमिका मात्रै थियो। निर्देशक घिमिरेले निर्माण गरेका थुप्रै चलचित्रमा सानो भूमिका भएपनि अभिनय गरे। काम गर्दै गएपछि घिमिरेकै निर्माणमा बनेको चलचित्र ‘मितज्यु’बाट उनले मुख्य भूमिकामा काम गर्ने मौका पाएका थिए। त्यसपछि उनलाई अन्य व्यानरका थुप्रै चलचित्रहरुबाट प्रस्तावहरु आए।

लामो समय चलचित्र क्षेत्रमा काम गरिसकेपछि उनले आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने योजना बनाए। र चलचित्र ‘आफ्नो मान्छे’ बन्यो। उक्त चलचित्रको सफलतापछि उनी चलचित्र निर्माणमा होमिए। उनको लगानीमा पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रस्लेट, यात्रा’ लगायतका चलचित्र निर्माण भएका छन्। जसमध्ये आधाभन्दा बढी चलचित्र सफल भएका छन्।

संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष सम्भुजित बास्कोटा उनको निधनले निकै दुखी छन्। उनी भन्छन्, ‘मलाइ एकदमै दुःख लागेको छ। मैले केशवलाई साह्रै मिस गरिरहेको छु। चलचित्र विकाश बोर्ड बन्याे।  बोर्डमा धेरै अध्यक्षहरु पनि आए। सबैले राम्रै गर्नुभाछ। तर उ विशेष किसिमले आएको थियो र उसमा विशेष एउटा उत्साह थियो।’

उनी भावुक हुँदै अगाडि भन्छन्, ‘मलाई उसले बा भनेर सम्बोधन गथ्र्यो । विशेष त उ मिलनसार थियो । कसैको चित्त दुखाउँदैनथ्यो । चलचित्र क्षेत्रलाई एकदमै माया गथ्र्यो । उसलाई हामीले सँधै सम्झिरहनेछौं ।’ त्यस्तै निर्देशक दयाराम दाहाल भटराईको निधनले चलचित्र क्षेत्रलाई असाध्यै ठूलो क्षति पुगेको बताउँछन्।

अभिनेत्री सरिता लामिछाने भन्छिन्, उहाँसँग हरेक पटक भेट्दाखेरीका मेमोरीहरु धेरै छन् । केहि समय अघि एउटा कार्यक्रमको दौरान उहाँलाई नजिकबाट चिन्ने मौका पाएको थिए । उहाँ एकदमै असल मान्छे हुनुहुन्थ्यो । उहाँ जहिले पनि चलचित्र र चलचित्रका बारेमा धेरै कुरा गर्नुहुन्थ्यो । हामीले एकदमै क्षमतावान व्यक्ति गुमाएका छौं।’ अभिनेता किरण केसी भट्टराईको निधनले एउटा सारङ्गीको तार छिनेको जस्तो अनुभुती भइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘मलाई एउटा सारङ्गीको तार छिनेको जस्तो अनुभुती भइरहेको छ । चलचित्र क्षेत्रले ठूलो अपूर्णिय क्षती भोग्नुपरेको छ ।’ उनी अगाडि थप्छन्, ‘मैले व्यक्तिगत रुपमा यसलाई बाउ र आमा पछिको ठूलो घटनाको रुपमा लिएको छु ।’

अभिनेता तथा निर्माता दीपकराज गिरीको नजरमा उनी स्पष्ट वक्ता थिए । उनी आफ्नो पराय नभनी न्यायको पक्षमा बोल्थे । भट्टराईसँगको पुरानो घनिष्टता सझिँदै दीपक भन्छन्, ‘केशव जी सँग मेरो एकदमै पुरानो घनिष्टता थियो । जतिबेला म स्ट्रगलमा थिए, त्यतिबेला उहाँ सिनेमा मेकर हुनुहुन्थ्यो । साच्चिकै भन्दाखेरि विकाश बोर्डमा कोही मान्छे आएको छ जस्तो लागेको थियो । केही पनि छ भने भन्नुहोस् है नेपाली निर्माताको लागि काम गर्छुु भन्नुहुन्थयो ।’

उनी भावुक हुँदै फेरि भन्छन्, ‘उहाँले साच्चिकै केही गर्नुहुन्छ जस्तो लागेको थियो । मान्छे राम्रो हुनुहुन्थ्यो । अब राम्रा मान्छे भगवानका लागि चाँडै प्यारो हुन्छ भन्थे । यसबाट झन प्रमाणित भएको छ ।

कलाकार तथा सामाजिक अभियन्ता कुञ्जना घिमिरे (सुन्तली) भन्छिन्, ‘केशब दाईको असामयिक निधनले हामी स्तब्ध भएका छौं । केशव दाईसँगै काम गर्न नपाए पनि उहाँलाई हामीले अग्रज अभिभावकको रुपमा लिएका थियौं । उहाँले हाम्रा सबै बस्तीहरुमा आएर भिजिट पनि गर्नुहुन्थ्यो । जतिबेला पनि तिमिहरुले राम्रो काम गरेको छौ भनेर आशिर्वाद दिनुहुन्थ्यो ।’

उनी अगाडि भन्छिन्, ‘अस्ती मात्रै सितारामजीलाई फोन गरेर तिम्रो रंगशाला भिजिट गर्न १ गते आउँछु भन्नुभएको थियो । त्यो मुमेन्ट सितारामजीले एकदमै मिस गरिरहनु भएको छ ।’ भट्राईको निर्माणमा बनेको अन्तिम चलचित्र (यात्रा) काम गर्ने अवसर पाएका अभिनेता सलिनमान बानीयाँ भट्टराईको निधन भएको अझै विश्वास गर्न गाह्रो भएको बताउँछन् । सलिनमानको नजरमा भट्टराई एकदमै सहयोगी थिए ।

अभिनेता सलोन बस्नेतले पनि भट्राईको निर्माणमा बनेको अन्तिम चलचित्र (यात्रा)मा काम गर्ने अवसर पाएका थिए । सलोन भन्छन्, ‘चलचित्रको छायांकन दौरानका धेरै मेमोरी थिए । जुन सँधै सँगै हुन्छन् । सलोन भन्छन्, ‘उहाँ चलचित्र विकास बोर्डको अध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँबाट धेरै आश पनि गरिएको थियो । वास्तबमा भन्नुपर्दा चलचित्र क्षेत्रका लागि यो एकदमै ठूलो लस हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *