दैलेखमा आगलागी हुँदा पच्चीस लाख क्षति

डिसी नेपाल
३ पुष २०७६ २२:२८

दैलेख । जिल्लाको नारायण नगरपालिका–१ मा रहेको अधिकारी भेराइटी एण्ड अर्डर सप्लार्यसमा विद्युत् चुहावट हुँदा आगलागी भएको छ । बुधबार राति २ बजे विद्युत्को तार सर्ट भएर आगलागी भएको हो । नयाँबजारमा फेन्सी पसल गर्दै आएका ताराकिशोर शर्मा अधिकारीको पसलमा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर वलीले राति २ बजे विद्युत् चुहिएर आगलागी भएको खबर स्थानीयवासीले प्रहरीलाई गरेपछि प्रहरीले ताला तोडेर पनि पसलमा लागेको आगो निभाउन नसकेका कारण सबै कपडा जलेर नष्ट भएको बताए । उनले नारायण नगरपालिकामा रहेको दमकल पनि बिग्रेको अवस्था भएका कारण आगो नियन्त्रण लिन समस्या भएको बताए।

प्रहरीका अनुसार २५ लाख बराबरको सामान नष्ट भएको जनाएको छ । एक वर्षअघि त्यही फेन्सी पसलको आडमा रहेको अनु फेन्सी पसलमा समेत आगलागी भएको थियो । नारायण नगरपालिका ल्याएको दमकल बिग्रिएर थन्किएकाले आगो निभाउन स्थानीयवासीले आफ्नो घरमा भएको खानेपानी ल्याएरसमेत आगो निभाउन सम्भव नभएको स्थानीयवासी किशोर केसीले बताए । उनले दैलेख बजारमा चार दिनदेखि लगातार खानेपानी अभाव भएका कारण धाराबाट बोकेको पानी ल्याएर स्थानीयले आगो निभाउन खोजे पनि सम्भव नभएको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *