‘बीओपी‘ स्थापनाका लागि जग्गा खोज्दै सशस्त्र प्रहरी बल

डिसी नेपाल
१७ मंसिर २०७६ २०:३९

काठमाडौं । भारतीय भूमि नजिक रहेको कैलाली जिल्लाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी (सीमा सुरक्षा कार्यालय) स्थापनाका लागि जग्गा खोजी गर्न थालिएको छ ।

सीमा क्षेत्रको बङ्गारा कटान, जुगेडा, खोनापुर, भुँइयाफाँटा, हिक्मतपुर र श्रीलङ्का टापुमा गरी छ ठाउँमा बीओपी कार्यालय स्थापनाका लागि जग्गाको खोजी भइरहेको धनगढीस्थित सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख प्रहरी उपरीक्षक कमल तिउसिनाले बताए ।

‘सीमा क्षेत्रमा तत्कालका लागि १० किलोमिटरको दूरीमा एउटा बीओपी राख्न सकिने गरी योजना बनाएका छौँ’, प्रहरी उपरीक्षक तिउसिनाले भने, ‘यसका लागि जग्गा खोज्ने काम भइरहेको छ ।’

सीमा क्षेत्रको भुँइयाफाँटाको हकमा त्यहाँ रहेको एक माध्यमिक विद्यालय नजिकको खाली रहेको पुरानो भवनमा स्थानीय पालिका र जनतासँगको समन्वय र सहयोगमा बीओपी कार्यालय स्थापनाको प्रयास गरिएको छ ।

छ वटा नयाँ ठाउँमा सरकारी ऐलानी पर्ती जग्गा खोजेर बीओपी कार्यालय स्थापना गर्ने प्रयासमा स्थानीय पालिकाले सहमति दिइसकेको जनाइएको छ ।

सीमामा तीन वटा सीमा कार्यालय

कैलाली जिल्लाको भारतसँग सीमा जोडिएको १ सय १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको फूलबारी, लालबोझी र खक्रौलामा गरी जम्मा तीन वटा मात्र सीमा कार्यालय सञ्चालनमा छन् ।

फूलबारी र लालबोझीमा पहिल्यैदेखि कार्यालय रहेकामा खक्रौलामा गत वर्षदेखि सशस्त्र प्रहरी बलको सीमा कार्यालय स्थापना गरिएको हो । यही दूरीमा सीमापारि भारतीय सीमा सुरक्षा बल (एसएसबी)का २१ ठाउँमा कार्यालय रहेको बताइएको छ ।

सीमा सुरक्षाका साथै आपराधिक गतिविधि नियन्त्रणको काम गर्दै आएको सशस्त्र प्रहरी बलको सीमा कार्यालयमा पर्याप्त साधन स्रोतको भने अभाव रहेको छ ।

दुई देशको सीमा क्षेत्र हुँदै पश्चिमबाट पूर्वतर्फ बग्ने मोहना नदीले कतिपय ठाउँका सीमा स्तम्भ पुरेको, वर्षायामको समयमा दुवैतर्फको भूमि बाढीले कटान गर्ने गरेको जस्ता समस्या पहिले देखिनै रहेको छ ।

६७ सीमा स्तम्भ फेला पर्न सकेनन्

कैलालीको पूर्वश्रीलङ्का टापुदेखि पश्चिम डोकेबजारसम्मको १ सय १ किमी लामो अन्तर्राष्ट्रिय सीमाको दूरीमा मुख्य ५३ र सहायक २ सय २९ सीमास्तम्भ रहेकामा यीमध्ये मुख्य १३ र सहायक ५४ वटा सीमास्तम्भ फेला नपरेको तथ्याङ्क रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

मुख्य ३९ वटा सीमास्तम्भ सबुत अवस्थामा रहेकोमा एक सीमा स्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ । नेपाल—भारतको संयुक्त सीमा सर्भे नापी टोली नं ४ ले गत वर्ष मुख्य सीमास्तम्भ सात वटाको निर्माण र नौ वटा स्तम्भको मर्मत गरेको थियो ।

यस्तै, सहायक स्तम्भमध्ये २५ वटाको मर्मत र ४१ वटा नयाँ निर्माण गरिएको थियो । सबुत अवस्थामा १ सय ७१ सीमास्तम्भ रहेकामा थप चार वटाको मर्मत गर्नुपर्ने देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक कैलालीको सीमा क्षेत्रमा एक ‘रिफरेन्स’ सीमा स्तम्भसमेत रहेको छ ।

भारतले हालै आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेको घटनापछि बढेको चिन्ता र जनचासोसँगै नेपाल भारतका सीमामा थप ठाउँमा सशस्त्र प्रहरी बलका बीओपी स्थापना गर्ने प्रयास थालिएको बताइएको छ ।

प्रदेश सरकारको पहल

भारतले आफ्नो नक्सामा दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको घटनाका विषयमा प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले नेपालको भारतसँग दार्चुलालगायतका अन्य भू–भागमा देखिएको अन्तर्राष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधान खोज्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गएको कात्तिकमा नै गरेको थियो ।

दार्चुलाको व्यास गाउँपालिका–२ को तुम्लिङदेखि टिङ्कर र साङ्ग्रु भन्ने गाउँसम्म नेपाली गाउँबस्ती भएर आवागमन गर्ने घोरेटो बाटो प्रदेश सरकारले नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने र सुदूरपश्चिम प्रदेशको कालापानीसहित भारतसँग सीमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकतानुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *