१३ औं सागः तेस्रो दिन पनि नेपालको गज्जब प्रदर्शन्, शीर्ष स्थानमा यथावत

डिसी नेपाल
१७ मंसिर २०७६ २०:५८

मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले तेस्रो दिन मंगलबारसम्म पनि पदक तालिकामा आफ्नो प्रभुत्व कायम राखेको छ। सोमबार १५ स्वर्ण पदक जितेको नेपालले मंगलबार थप ८ स्वर्ण पदक जितेको छ।

मंगलबार नेपाललाई स्वर्ण दिलाउनले खेल हुन् मार्शलआर्टका। उसुमा २ स्वर्ण जितेको छ । उसुमा नेपालका लागि विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जिते। यस्तै तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महराले स्वर्ण जित्दा कराँतेमा नविन रसाइली र सनिता महर्जनले पनि स्वर्ण जिते।

एथ्लेटिक्समा नेपालले मंगलबार एक स्वर्ण जित्दा सन्तोषी श्रेष्ठले कीर्तिमान बनाइन् । महिला १० हजार मिटर दौडमा सन्तोषीले भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन्। उनी सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो खेलाडीसमेत बनिन्।

एथ्लेटिक्सकै पुरुष १५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन्।

मंगलबार नै नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो। पोखरामा भइरहेको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जित्दा लक्ष्मण मल्लले रजत जिते। महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन्।

मंगलबार नेपालको पदक संख्या ४४ पुगेको छ। स्वर्ण २३, रजत र काश्य १२ गरी नेपालको पदक संख्या ४४ पुगेको हो। पदक तालिकामा नेपाल शीर्ष स्थानमा यथावत छ।

यस्तै दोस्रो स्थानमा रहेको भारतले मंगलबार स्वर्ण पदक संख्या १५ पुर्याएको छ। सोमबार भारतको पोल्टामा २ मात्र स्वर्ण थियो। भारतले १५ स्वर्ण, १६ रजत र ९ काश्यसहित ४० पदक जितेको छ। यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ५ स्वर्ण, १४ रजत र २७ काश्यसहित कुल ४६ पदक जितेको छ।

उता चौथो स्थानको पाकिस्तानले ४ स्वर्ण, ११ रजत र १२ काश्यसहित २७ पदक जितेको छ। उता पाँचौ स्थानको बांगलादेशले ४ स्वर्ण, ४ रजत र २० काश्यसहित २८ पदक जितेको छ।

छैटो स्थानमा रहेको माल्दिभ्सले एकमात्र स्वर्ण पदक जितेको छ। माल्दिभ्सले पुरुष १०० मिटर दौडमा स्वर्ण जितेको हो। सागको इतिहासमा माल्दिभ्सले पहिलो पटक स्वर्ण पदक जितेको हो।

पदक तालिकाको अन्तिममा रहेको भुटानले मंगलबारसम्म स्वर्ण पदक जित्न सकेको छैन। उसले मात्र ३ काश्य पदक जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *