पौडेलको गुनासो ‘बिरालो कुटेको सबैले देख्छन्, दुध चोरेको देख्दैनन्’

डिसी नेपाल
१९ पुष २०७६ १८:५४

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विकृतिमुक्त बनाउन आवश्यक रहेको बताएका छन्।

चितवनको रत्ननगरमा भएको एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीलाई विकृतिमुक्त र देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताए।

पौडेलले ‘विरालो कुटेको सबैले देख्ने तर दुध चोरेको कसैले नदेख्ने’ भन्दै बाहिर नेताहरु लडेको जस्तो देखिने र भित्रको वास्तविकता कसैले नदेख्ने गरेको बताए।

उनले पार्टी सभापति शेरबहादुर देउवाको समेत चर्को आलोचना गरे। पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गर्दै एकढिक्का भएर आगामी निर्वाचनका लागि तयार हुन भन्दै ९ बुँदे लिखित प्रस्ताव गर्दा पनि सभापति देउवाले आफ्ना सुझावहरु सम्बोधन नै नगरेको उनले बताए।

उनले भने, ‘सभापति जी हाम्रो पार्टीमा थिचोमिचो केही नराख। आउँदो चुनावको सामना गर्न सक्ने कांग्रेस बनाएर जानुपर्छ। सबै कुराहरु छलफलमा लगेर टुंगो लगाएर एक भई अगाडि बढेर जनतामा जाउँ भनेर ९ बुँदे प्रस्ताव बुझाएँ । तर जवाफ, प्रतिक्षा धेरै भयो आएन।’

वरिष्ठ नेता पौडेल समूहले पार्टीको केन्द्रीय कार्यसमिति बैठक समेत लगातार बहिस्कार गर्दै आएको छ। आफ्नो मागहरु सम्बोधन पुरा नहुँदासम्म बैठकमा सहभागि नहुने अडान पौडेल पक्षले लिएको छ।

संस्थापन पक्षले भने बहुमतका आधारमा निर्णय गर्दै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। शनिबार राष्ट्रियसभा निर्वाचनका लागि पनि उम्मेदवारको टुंगो लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *