अधिकृतलाई महानगरीय प्रहरी प्रमुखको निर्देशनः हरेक साँझ जवानको मेसमा पनि खाना खानुहोस्

डिसी नेपाल
२० पुष २०७६ १८:१०

काठमाडौं। ‘प्रत्येक दिन साँझ सिनियर अधिकृतहरूले जवान, हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान, हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजानुस्।’

यो आदेश महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा दिएका हुन्।

नेपाल प्रहरीमा तल्लो तहका कर्मचारीलाई मथिल्लो तहका हाकिमले उचित व्यवहार गर्न नसकेको आरोप लागिरहेको बेला महानगरीय प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले जवान तथा हवल्दारले खाने खाना समेत पौष्टिक हुनुपर्छ भन्ने बिचार राखेका हुन्।

राजधानीको प्रहरीले गर्ने कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने बताउँदै प्रमुखले सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न मातहतका प्रहरीलाई निर्देशन दिए।

उनले नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिकसंग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुँदै आएको स्मरण गराउँदै आम नागरिकसंगको व्यवहारमा शिष्टता र नम्रता ‍अपनाउन सबैलाई निर्देशन दिए।

भ्रष्टाचारलाई शत्रु मान्ने पोखरेलले कुनै प्रहरी कर्मचारीले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्ने जिकिर गर्दै उनले त्यस्तो भ्रष्टाचार सम्बन्धी मुद्दामा कोही कतैबाट भनसुन गराएर बच्न नसक्ने बताए। तर उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने उनले बताए।

साथै नागरीकलाई गर्ने व्यवहारमा नम्रता, शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदैसम्मको कारवाही गर्न प्रमुख प्रहरी नायव महानिरीक्षक पोखरेलले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *