इरान-अमेरिका तनावः इराकमा कार्यरत नेपालीहरु के भन्छन् ?

डिसी नेपाल
२४ पुष २०७६ १४:५२

काठमाडौं। अमेरिका र इरानबीच तनाव बढेसँगै इरानले लगातार इराकस्थित अमेरिकी सैनिक बेस क्याम्पमा मिसाइल आक्रमण गरिरहेको छ । इरानले ठूलो संख्यामा अमेरिकीहरु मारिएको दावी गरिरहँदा अमेरिकाले भने कुनै मानवीय क्षति नभएको दावी गरेको छ । यही बीचमा इराकमा अमेरिकी सैनिक बेसमा कार्यरत नेपालीबारे चासो र चिन्ता सुरु भएको छ । इराकमा अमेरिकी बेस क्याम्प सहित विभिन्न स्थानमा सयौं नेपाली कार्यरत छन् ।

सीबीसी क्याम्पमा कार्यरत नेपाली सुशील गुरुङलाई अमेरिका विरोधी इराकी समूहबाटै आक्रमण भएको भन्ने खबर पुगेको छ । भित्रको स्थिति निकै सुरक्षित भएकोले उनीहरु त्यहाँ धेरै डराएका छैनन् । पुराना कामदारहरु सामान्य अवस्थामै छन् तर भर्खरै गएका नयाँ कामदारहरु भने केही डराएका छन् । सीबीसी क्याम्पमा अब अवस्था सामान्य भइसक्यो भन्ने सर्कुलर गरिएको छ र नेपालीहरुले राहत महसुस गरेका छन् ।

अमेरिकी दूतावास नजिकै युनियन ३ मा काम गर्दै आएका दोलखाका बद्री केसी भने निकै डराएका छन् । उनले नेपाल फर्किने तयारी गरिसके । उनले कार्यरत कम्पनीमा राजीनामा दिइसकेका छन् तर कम्पनीले नेपाल फर्किने व्यवस्था गर्न बाँकी नै भएकोले नेपाल फर्किने पालो पर्खेर बसेका छन् । जीएसआइ बिजनेस सर्भिसेज डोजोस डिनरमा सेफको काम गर्दै आएका प्रेम लामाले पनि आफ्नै अगाडि दुई मिाइल खसेको देखे । आफनो आँखाअगाडि नै विष्फोट भएको देखेपछि भने उनी पनि निकै आत्तिए ।

अनवरको अल असाद एयरबेसमा आइटी अफिसरको रुपमा कार्यरत दिपक बानियाले ७ जनवरीको पूरै रात बंकरमा बिताएका थिए । त्यस दिन त्यहाँ १२ वटा मिसाइल खसेका थिए । यद्यपि लामो समयदेखि त्यहाँ कार्यरत भएका कारण उनी यस्तो स्थितिका अनुभवी हुन् । उनले यो १२ मिसाइलको आक्रमणलाई सामान्य रुपमै लिएका छन् । यो भन्दा ठूलो परिमाणमा आक्रमण भए मात्र नेपाल फर्कने उनको भनाइ छ ।

इराकमा कैयौं नेपाली महिलाहरु घरेलु कामदारको रुपमा कार्यरत छन् । उनीहरुलाई बाहिर के भइरहेको छ भन्ने विस्तृत जानकारी नै नभएको नेपाली महिला समाज कुर्दिस्तानकी अध्यक्ष सानु शेर्पाले बताइन् । इर्विल एन्कावामा अमेरिकन कन्सुलर नजिकै रेष्टुरेण्टमा सेफको रुपमा काम गरिरहेका दाङका ओम ओलीले पनि सुरक्षित स्थान खोजिरहेका छन् । अहिले आफू कम्पनीमै बस्ने र यहाँ आक्रमणको खतरा अधिक देखिएकोले अलि टाढा सुरक्षित स्थान खोजिरहेको उनको भनाइ छ ।

इराकमा कैयौं नेपालीहरु अवैधानिक तरिकाबाट पनि पुगेकोले उनीहरुलाई उद्धार गर्न भने समस्या छ । यसरी गएका कतिपयको पासपोर्ट समेत आफ्नो साथमा नभएकोले समस्या छ । वैधानिक तरिकाले नै गएकाहरु पनि कम्पनीले नपठाउँदासम्म सहजै नेपाल फर्किने अवस्थामा छैनन् । आफ्नै खुसीले नेपाल फर्किनेको संख्या न्यून छ । केही नेपालीहरु भने आर्थिक समस्याका कारण युद्ध नै भए पनि नफर्किने मनस्थितिमा छन् । कुर्दिस्तानमा २ महिना अघिमात्र पुगेका र बेरोजगार नै रहेका एक युवाले आफू जस्तोसुकै स्थितिमा पनि नेपाल नफर्किने बताए । नाम खुलाउन नचाहने उनले भने ‘फर्केर के गर्नू ? ५ लाख ऋण लिएर आएको छु ।’

इराकबाट सहकर्मी विनोद श्रेष्ठको सहयोगमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *