सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन

डिसी नेपाल
२९ पुष २०७६ १६:३४

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सिंहदरबार स्थित संसद भवन भत्काएर अत्याधुनिक नयाँ भवन निर्माण गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेपछि समितिले भूकम्पबाट जिर्ण बनेको संसद भवन भत्काएर यसको मौलिकतालाई विग्रन नदिइ नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो । समिति सभापति कल्याणी कुमारी खड्काले सहरी विकास मन्त्रालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई उक्त निर्देशन दिएकी हुन् ।

बैठकमा सांसदहरुले राष्ट्रिय पुननिर्माण प्राधिकरणले संसद भवन भत्काएर वा रेट्रोफिटिङ गर्ने भन्ने विषयमा उचित सुझाव दिन नसकेको बताएका थिए । सांसद रामबहादुर विष्टले भूकम्प गएको धेरै वर्ष हुँदा समेत भवन निर्माणको सुरुवात हुन नसकेको र कसरी बनाउने भन्ने सझाव समेत दिन नसकेको बताए । सांसद यज्ञराज सुनुवारले जिर्ण भवन राखेर उपयुक्त नहुने भएकाले नयाँ भवन निर्माण गर्नुपर्ने बताए ।

बैठकमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने सुझावहरु विज्ञबाट आएको बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव शिवहरी शर्माले भवनलाई यथावत अवस्थामा राख्न उपयुक्त नहुने भएपनि भत्काएर अर्को संरचना बनाउने कि के गर्ने निर्णय नभएको बताए । उनले केहि बजेट विनियोजन गरिएपनि के बनाउने भन्ने निक्र्योल भएपछि बजेट थप हुने बताए ।

समितिले भने भवनलाई यत्तिकै बचाएर उपयोग गर्ने अवस्था नहुने भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *