गाडीमा अश्लिल हर्कत गर्नेलाई ५ बर्ष कैद र ३ लाख जरिवाना हुन सक्ने

डिसी नेपाल
१ माघ २०७६ २:०३

काठमाडौं । करिब १ बर्ष पहिला काठमाडौंको एउटा सार्वजनिक गाडीभित्र अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । अभियुक्तको पहिचान गर्न गाह्रो भएको भन्दै प्रहरीले खोजतलास जारी राख्यो । अन्ततः पक्राउ गरी सार्वजनिकसमेत गरेको छ ।

नेपाल प्रहरी अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले अभियुक्त तनहुँको तत्कालीन अरुणोदय गाविस घर भई हाल चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की भनिने रवीन रुचाललाई साइबर अपराधमा मुद्दा चलाइने जानकारी दिएका छन् । कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ३ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

चितवन प्रहरीसँगको समन्वयमा महाशाखाको टोलीले आइतबार अपराह्न चितवनको भरतपुरबाट उनलाई पक्राउ गरी थप कारवाहीका लागि काठमाडौँ ल्याएको हो । महाशाखा प्रमुख सहकुलबहादुर थापाले ठूलो मेहनत गरेर एक वर्षपछि नै भए पनि घटनाका अभियुक्त पक्राउ गर्न सफल भएको बताए । “पहिचान नभएको अभियुक्त हो, पत्ता लगाउन ठूलो मेहनत गरेका छौँ, गुगल र फेसबुकसँग आइपी एड्रेस मागी पत्ता लगाएर पक्राउ गर्न सफल भयौँ”, थापाले भने।

विसं २०७५ माघ ११ गते बसभित्र त्यस्तो गतिविधि गरेको दृश्य सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । गत वर्ष साउनमा खिंचिएको भिडियो सात महिनापछि माघमा अपलोड गरेको खुल्न आएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

घटना भएको समयभन्दा तीन वर्षअघिदेखि उनी काठमाडौँ बस्दै आएका थिए । त्यो बेला उनले रिक्सा चलाउँथे । घटनाको केही समयपछि प्रहरीबाट बच्न उनी भारत गएका थिए । लामो समयसम्म प्रहरीले युवकको पहिचान गर्न सकेको थिएन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) पनि घटनाको अनुसन्धानमा लागेको थियो । घटनाको केही समयपछि प्रहरीले गाडी भने काठमाडौँको ढल्कुमा फेला पारे पनि तथ्य पत्ता लगाएको थिएन । घटना सामसुम भएको ठानेर उनी तीन महिनाअघि भारतबाट नेपाल आएको महाशाखाले जनाएको छ ।

उनले घटनासँग सम्बन्धित विषय फेसबुकमा समेत सन्देश पोष्ट गरेको प्रहरीले जनाएको छ । पहिचान भएको दोस्रो दिनमा नै उनलाई पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *