वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत फेला

डिसी नेपाल
१ माघ २०७६ २०:५६

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिए। उनका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उनले जानकारी दिए ।

उनको शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत जाँदै जाँदै छन् । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जितेका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिइन् ।

वडाध्यक्ष खड्का मङ्गलबार भएको नगरसभामासमेत अनुपस्थित रहेको नगरपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिए। बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताए । “घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ”, उनले भने, “यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने छ ।” भारतीय प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *