यूएई बस दुर्घटनाः ३ नेपाली चेलीको मृत्यु, १४ चेली घाइते, १ को अवस्था गम्भिर

डिसी नेपाल
३ माघ २०७६ ८:४९

काठमाडौँ । यूएईमा बिहीबार नेपालीसहित अन्य विदेशी श्रमिक चढेको बस दुर्घटना हुँदा ३ जना नेपाली चेलीसहित ६ जनाको मृत्यु भएको छ। एमबीएम कम्पनीको कामदार बोकेको मिनिबस आबुधाबीमा बिहीबार बिहान साढे ५ बजे  दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेको सो बसमा सरफाइ मजदुरका रुपमा कार्यरत  १८ नेपाली चेलीसहित, अफ्रिका, श्रीलङ्का लगायतका गरेर जम्मा २४ जना कामदार रहेका थिए। सो बस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएको थियो ।

युएईस्थित नेपाली राजदूतावासका अनुसार उक्त दुर्घटनामा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी, र  ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले ज्यान गुमाएका छन् ।

दुर्घटनामा १४ जना घाइते भएका छन । घाइते भएका  सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा गुरुङ र इलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी मकवानपुरकी रिता सिवाकोटी, झापाकी मुना राई, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती मगर र ठेगाना नखुलेकी सुजला विश्वकर्माको माफ्रक अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै अलरहा अस्पतालमा मकवानपुरकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ र सुनसरीकी वर्षा विश्वकर्माको उपचार भैरहेको दूतावासले जनाएको छ ।

अस्पतालका अनुसार उनीहरूमध्ये नुवाकोटकी सरिता तामाङको अवस्था गम्भिर छ ।

दुर्घटना भएको थाहा पाएपछि राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका कर्मचारी विभिन्न अस्पतालमा पुगेर घाइतेको जानकारी लिएका थिए।  घाइते भएकी चितवनकी निर्मला प्रजा भने बिहीबार साँझ नै डिस्चार्ज  भैसकेको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *