सिरिजमा आश्रित नेपाली सिनेमा बजार

डिसी नेपाल
४ माघ २०७६ ११:२१

काठमाडौं। दीपकराज गिरी–दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा ४’ सिनेमाको तयारीमा छ। अभिनेत्री तथा निर्देशक झरना थापा ‘ए मेरो हजुर–४’को तयारीमा छिन्। गतवर्ष आफ्नै छोरी सुहाना थापा र अनमोल केसीलाई लिएर ‘ए मेरो हजुर ३’ रिलिज गरेकी झरनाले यसवर्ष ‘ए मेरो हजुर ४’ निर्माणको तयारी थालेकी हुन्। यसमा पनि अनमोल र सुहानाको जोडी बाँधिदैछ।

नारायण रायमाझी ‘परदेशी २’ सिनेमा निर्माणको तयारीमा छन्। ‘परदेशी’ प्रदर्शनमा आएको ४ वर्षपछि रायमाझीले ‘परदेशी २’ बनाउन लागेका हुन्। ‘परदेशी’मा प्रशान्त तामाङ्ग शीर्ष भूमिकामा थिए भने ‘परदेशी २’मा गायक प्रकाश सपूत हिरो बन्दैछन्।

गोपिकृष्ण मुभिजले ‘पर्खी बसेँ’प्रदर्शनमा आएको १३ वर्षपछाडि ‘पर्खी बसेँ २’ निर्माणको तयारी थालेको छ। निर्देशक अशोक शर्माले आउँदो दशैंमा प्रदर्शनमा ल्याउने गरी सिनेमा ‘अल्लारे २’को घोषणा गरिसकेका छन्।

अभिनेता रमित ढुंगानाले ‘माया नमार २’ सिनेमा निर्माणको घोषणा गरेका छन्। केही दिनअघि जन्मदिनमा रमितले आफ्नो डेब्यू सिनेमाको सिरिज निर्माण गर्ने घोषणा गरेका हुन्। यसमा रमितले छोरालाई अभिनयमा डेब्यू गराउने सोँच राखेका छन्। निर्देशक रोज राणाले ‘खलनायक २’ सिनेमा निर्माणको घोषणा गरेको लामै समय भैसकेको छ।

नेपालमा सबैभन्दा लामो सिरिज बनेको सिनेमा हो, ‘नाइँ नभन्नू ल’। विकासराज आचार्य निर्देशित यो सिनेमा पाँच सिरिजसम्म निर्माण भएर प्रदर्शनमा आइसकेको छ।

निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु २’ छायाँकन सकेका छन्। पूजा शर्मा र पल शाहको शीर्ष भूमिका रहेको सिनेमाका गीतले अहिले राम्रो चर्चा पाईरहेका छन्। फागुनको २३ गतेदेखि यो सिनेमा प्रदर्शनमा आउँदैछ।

सन्तोष सेन ‘प्रेम गीत ३’को धमाधम छायाँकन गरिरहेका छन्। प्रदीप खड्का र जसिता गुरुङको शीर्ष भूमिका रहेको सिनेमा चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ।

त्यस्तै, अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा सिनेमा ‘चपली हाइट ३’को छायांकन सकिएको छ। स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको अभिनय रहेको यो सिनेमा पनि चैत २८ गतेदेखि प्रदर्शनमा ल्याउने निर्माण टिमले बताएको छ।

यसले के देखाउँछ भने अहिले नेपाली सिनेमा उद्योगमा एकपछि अर्को सिनेमाको सिरिज बनाउने लहर चलेको छ। हुनत सफल सिनेमाको सिरिज बनाउने क्रम एक दशकअघिदेखि नै सुरु भएको हो। तर, त्यो क्रम अहिले अझ मौलाएको छ। अहिले सिनेमा नै कम बनिरहेका छन्, बनेका सिनेमामा अधिकांश सिरिज नै छन् ।

के भन्छन् चलचित्रकर्मी ?

पुराना सफल सिनेमाको नाममा सिनेमा बनाउन निर्माता तथा निर्देशकहरु आकर्षित हुनुको कारण ब्रान्ड ‘भ्यालु’नै मुख्य भएको अधिकांश चलचित्रकर्मीको बुझाई छ। कलाकार तथा निर्देशक दीपाश्री निरौला पुराना नाममा सिनेमा बन्नुको कारण ब्रान्ड ‘भ्यालु’ भएको बताउँछिन्। उनी नयाँ नाम राख्दा त्यसलाई स्थापित बनाउन समय लाग्ने तर स्थापित नाम राख्यो भने कथामा बढी समय खर्चिन पाइने बताउँछिन्।

‘हाम्रो ‘छक्का पञ्जा’ त अब ब्राण्ड भइसक्यो। ब्राण्ड बनिसकेको नाममा सिनेमा बनाउँदा नामलाई स्थापित गराउन समय लागेन। त्यो समय कथामा खर्चिन पाईन्छ। दर्शकले पनि ब्राण्ड सिनेमामा विश्वास गर्नुहुन्छ’–दीपाश्रीले डिसी नेपालसँग भनिन्।

उनी आफूहरुले ‘छक्का पञ्जा’को सिरिज निर्माण गर्नुको पछाडी सिनेमाका पात्रहरु पनि भएको बताउँछिन्। ‘सिरिजमा पात्रहरु उही हुनुहुन्छ नि, अनि दर्शकले पनि त्यसलाई रुचाइरहनुभएको छ’– दीपाश्रीले भनिन्।

‘म यस्तो गीत गाउँछु’ सिरिजका निर्देशक सुदर्शन थापाको धारणा छ, हिट सिनेमालाई फेरि हेर्ने दर्शकको पनि चाहना हुन्छ।
‘त्यसको पछाडिको कारण ‘ब्राण्ड’ नै हो। पहिलो सिनेमा चल्यो भने दर्शकको त्यही सिनेमा फेरि हेर्ने चाहना हुन्छ’ उनी भन्छन् –‘तर त्यसमा पुरानै टिम हुनुपर्छ जस्तो लाग्छ। अनि मेहनत पनि पहिलोमा जस्तै हुनुपर्छ।’

‘परदेशी’निर्देशक नारायण रायमाझीको मत भने अलि फरक छ। उनी आफूसंग परदेशीका धेरै कथाहरु भन्न बाँकी रहेकोले त्यही नाममा अर्को सिनेमा बनाउन लागेको बताउँछन्। उनले भने, –‘मसँग परदेशीका कथाहरु यति धेरै छन्। प्रस्तुत गर्न मन लागेका कथा परदेशीमा अटेनन्। पहिलोमा नअटेका कथाहरुमा ‘परदेशी २’ बनाउन लागेको हुँ।’

विगतमा बनेका सिरिज

अघिल्लो भागको निरन्तरता स्वरुप बन्ने सिनेमा सिक्वेल हो। भने नाम एउटै भए पनि विषय फरक हुने सिरिज सिनेमा हुन्। यद्यपी निर्माता/निर्देशकले अधिकांश सिनेमालाई सिक्वेल बताउँदै आएका छन्। सिक्वेल सिनेमामा ‘लुट २’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ ‘लप’पन छप्पन’, ‘बाटो मुनिको फूल’ पर्छन्। अघिल्लो सिनेमामा जहाँ कथा सकिएको थियो, त्यहीबाट यी सिनेमाको कथा शुरु गरिएको छ। यी बाहेक नामको पछाडी २ ,३ थपेर फरक कथामा निर्माण गरिएका सिनेमा सिरिज हुन्।

केही सिनेमा पछाडी २, ३ नथपी दुई/तीनपटक समेत निर्माण गरिएको हो। नेपाली भाषामा नेपालमै बनेको पहिलो सिनेमा ‘आमा’को नाममा तीनवटा सिनेमा बनिरहेका छन्। पछिल्लो पटक दीपेन्द्र के खनालको निर्देशनमा यो फिल्म बनेको छ। जुन आउँदो फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ। त्यस्तै राजेश हमालको डेब्यू सिनेमा ‘युगदेखि युगसम्म’नाममा दोस्रोपटक सिनेमा बनेको छ। यी बाहेक ‘नाई नभन्नू’, ‘दर्पण छाया’, ‘पापी मान्छे’, ‘हिम्मत’, ‘किस्मत’, ‘वीर बिक्रम’, विन्दास’, ‘आगो’, ‘कुसुमे रुमाल’, ‘सायद’, ‘होस्टेल रिटर्न्स’ ईत्यादीको सिरिज बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *