धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यः चण्डेश्वरी मन्दिर (फोटोफिचर)

बनेपा । काठमाडौं उपत्यकाको पूर्वमा पर्ने काभ्रे जिल्लाको बनेपा सहरको करिब १ किलोमिटर उत्तरपूर्वी कुनामा प्रसिद्ध चण्डेश्वरीको मन्दिर छ । बनेपामा मात्र हैन, पूरा काठमाडौं उपत्यकाभरि नै प्रख्यात रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन् । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन्, महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन् ।

यसको जीर्णोद्धार भने ने.सं. ८०१ तिर जगज्ज्योतिर्मल्लले गराएका थिए । हिमवत्खण्ड पुराणमा चण्डेश्वरी भगवतीले चण्ड नामक राक्षसलाई मारेको वर्णन पाइन्छ । यिनको स्थापना आनन्द देवले गराएका थिए भन्ने उल्लेख पाइन्छ । यिनलाई कन्यादेवी मानिन्छ र १० वर्षभन्दा कम उमेरका कन्याद्वारा यिनको पूजाआजा गर्ने चलन छ । चण्डेश्वरीको मूर्ति काठको छ । यी देवीको उत्पत्तिका सम्बन्धमा के किंवदन्ती पाइन्छ भने, एक पटक चण्डासुर नामक दानवले ब्रह्माको तपस्या गरी बलशाली हुने वरदान पाएछ । त्यसपछि उसले देवताहरूलाई सताउन थालेछ । देवताहरू चाँगु भेगमा चाँपका रूपमा लुकेछन् । चण्डेश्वरी देवीले पनि रक्तचन्दनको वनमा चाँपकै बोटमा लुकेर चण्डलाई मारिछन् ।

यसरी उनले देवताहरूलाई दानवको यातनाबाट बचाइछन् । यही मान्यताका कारण यी देवीलाई चण्डेश्वरीका रूपमा पूजाआजा गर्ने गरिएको हो । यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिमा ३ तल्लाहरू रहेका छन् । पश्चिमी भित्तामा भैरबको मूर्ति रहेको छ । यस मन्दिरमा पाचौँ शताव्दी ईस्वी संवतको हाराहारीमा बनाइको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेला परेका छन् ।

चण्डेश्वरी मन्दिरका भित्तामा विभिन्न चित्रहरू छन् । मध्यकालीन यी भित्तेचित्रहरू निकै महत्वपूर्ण मानिन्छन् । यस मन्दिरमा एक भित्तामा भगवान भैरबको चित्रकला पनि समावेश छ जुन नेपाल मण्डलाको सबभन्दा ठूलो भित्ता हो । चण्डेश्वरी मन्दिर जिर्णोद्धार गर्नु भन्दा पहिले करिव १०÷१५ वर्ष अगाडिदेखि मन्दिर दक्षिण तर्फ ढल्कँदै गएको स्थानीय बताउँछन् । शुरुमा मन्दिरको छाना सुवर्ण मोलम्वा युक्त बनाउने योजनामा काम अगाडि बढाउँदा जग कमजोर भएकोले मन्दिर पुनः निर्माण नै गरिएको थियो ।

मन्दिर पुनः निर्माण पश्चात अहिले यो मन्दिर ३ तह छाना नै सुवर्ण मोलम्वा युक्त रहेको छ । पुनः निर्माण कार्यमा सम्भव भएसम्म पुरानै वास्तुकलाका साधनहरु प्रयोग गरिएका छन् । यसर्थ यसमा मौलिकपन कायम रहेको आभाष मिल्दछ । चण्डेश्वरी मन्दिर अगाडि पश्चिमाभिमूख अवस्थामा गुम्बज शैलीमा बनेको चण्डेश्वर महादेवको मन्दिर रहेकोमा उक्त मन्दिर २०७२ सालको महाभूकम्पमा भत्किएको थियो । हाल सो मन्दिर पुरातत्व विभागले सोही शैलीमा पुननिमार्ण गर्दैछ । चण्डेश्वरी मन्दिर अगाडि ठुला–ठुला शीला स्तम्भहरुमा मयूर एवं सिंहका मूर्तिहरु रहेका छन् । उक्त स्तम्भहरुमा ने.सं. ९६१ को शीलालेख तथा ने.सं. ९३० उल्लेख भएको ताम्रपत्र पनि रहेका छन् । यी शीला स्तम्भहरु १८ देखि २५ फिटसम्म अग्ला रहेका छन् ।

यी देवीको वर्षेनी चण्डिपूर्णिमा बुद्ध जयन्तीका दिन भव्य जात्रा गर्ने गरिएको छ । यी भगवतीलाई खटमा राखेर बजार घुमाउने चलनसमेत छ । यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्त्व दिइएको छ । चण्डेश्वरीलाई चामुण्डा, चण्डी, उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ । यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आएको छ । मन्दिरका पुजारी गंगालाल कर्माचार्यका अनुसार पर्यटकहरुको आगमन अति कम भएको बताउछन् । उनले भने, ‘यो ऐतिहासिक एवं पर्यटकिय स्थललाई व्यवसथित बनाउन सके पर्यटकको आकर्षण बढ्ने छ ।’

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position