उपसभामुख तुम्बाहाम्फेद्वारा राजीनामा दिने तयारी

डिसी नेपाल
६ माघ २०७६ ११:१४

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने तयारी गरेकी छन्। उनले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी गरेकी छन्।

आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेपछि उपसभामुखले राजीनामा दिन लागेकी हुन्। ‘उहाँले संसद बैठक बस्नु अगाडि नै राजीनमा दिँदै हुनुहुनछ,’ उपसभामुख निकट स्रोतले भन्यो, ‘सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराउने तयारी छ।’ स‌ंसद बैठक १ बजे बस्दैछ।

यसअघि आफूलाई नै सभामुख नबनाएसम्म राजीनामा नदिने अडानमा रहेकी उपसभामुखसँग आइतबार प्रधानमन्त्री ओलीले छलफल गरेका थिए। प्रधानमन्त्रीले राजीनामा दिएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्छ।

नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा उपसभामुखले राजीनामा दिने तयारी गरेकी हुन्।  स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच तुम्बाहाम्फेलाई मन्त्री बनाउने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *