प्रमोदको कामना : छिट्टै आस्था र प्रहरी जवानको हात मिलाउँदै गरेको हँसिलो तस्वीर हेर्न पाइयोस्

डिसी नेपाल
६ माघ २०७६ १२:३२

काठमाडौं। गायक प्रमोद खरेलले गायक/गायिकाका विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भएको बताएका छन्।

उनले गायिका आस्था राउतको विमानस्थलमा चेकजाँचका क्रममा भएको घटना र त्यसपछिको परिस्थितीको विषयमा धारणा राख्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, –‘केही दिनदेखि चर्चामा रहेको आस्था राउत प्रकरणमा सकारात्मक वा नकारात्मक (समर्थन वा आलोचना) कुनै पनि टिप्पणी गर्ने गायक–गायिकाको संस्था नहुँदा करोडौं श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।’

उनले अगाडी लेखेका छन् –‘सामाजिक सञ्जालमा भाइरल यो प्रकरणले आस्था राउतलाई पक्रने आदेश दिएको छ। जहाँसम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फुटेज भन्दा पनि उनले फेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु नै हुन। जुन आफैमा केही अस्वाभाविक र कलाकारलाई नसुहाउँदा नै छन्।’

प्रमोदले सिसिटिभी फुटेजमा अडियो नभएकाले दुवैले के बोले थाहा नभएको उल्लेख अनुसन्धान दुईपक्षिय नै हुनुपर्ने माग गरेका छन्। लेखेका छन्, ‘जहाँ दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिङगमा सहयोग नगर्ने आस्थाको कमजोरी हो, दुई मत छैन। तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ, उनि बिनाकारण नै रिसाइन त? पक्कै पनि होइन। दिनभर डयूटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्तीको प्रतिशत जति/जति भएपनि अनुसन्धान दुईपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।’

प्रमोदले एकाध व्यक्तिगत घटनालाई कलाकार र समग्र प्रहरी क्षेत्रसँग जोडनु/जोडाउनु दुर्भाग्य हुने उल्लेख गरेका छन्। उनले आस्थालाई थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्क बनाउँदै यस्ता घटना नदोहोरीने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन्।

उनले कामना गरेका छन्, ‘केही समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाइँदै गरेको हँसिलो तस्वीर सामाजिक सञ्जालमा देख्न पाइयोस।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *