उपसभामुख शिवमाया तुम्बाहाम्फेद्वारा राजीनामा

काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्। उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्। त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।

बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन्दै आफूले सभामुखको उम्मेद्वार टुंगो लागेपछि राजीनामा दिएको बताइन्।

उनले भनिन्, ‘मैले मेरा धारणाहरु संम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ। मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकाक्षा या र अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु । यस सम्बन्धि विभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालिरहेकी छु । समयले यसबारेमा बस्तुनिष्ठ मुल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ।’

अन्यौलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर नहुने भएकाले आफूले भने अनुसार नै मार्गप्रसस्त गर्न लरेको उल्लेख गरिन्।

‘एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ। सार्वभौम संसदको महत्वपूर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुखविहिन हुदा उत्पन्न जटिलता र यसले श्रृजना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौं। यस्तो स्थिति अव कायम रहनु हुदैन। सभामुख चयनको ठोस आधार तय भएपछि आफूले मार्गप्रसस्त गर्ने भनेर आफूले राख्दै आएका मान्यतासदन समक्ष अभिलेखित गराउन चाहन्छु।’

उनले संविधानमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने काम नभएको प्रति गुनासो गरिन्। उनले भनिन्, ‘समावेशी लोकतन्त्र हाम्रो संबैधानिक व्यवस्थाको महत्वपूर्ण विशेषताको रुपमा रहेको छ। संविधानको यो मर्म अक्षर या बचनबाट होइन हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाइ लाग्छ। राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थसँग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुनेछ भन्ने मैले आशा लिएको छु।’

आफूले इमान्दारीता पुर्वक कर्तव्य पुरा गर्ने प्रयास गरेको भन्दै उहाँले कसैले पनि आफ्नो धरातल बिर्सन नहुने बताइन् । उनले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु विर्सन हुन्न र धरातल विर्सन हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्न हुन्न भन्ने कुरामा म सचेत छु।’

आइतबार बसेको नेकपा सचिवालय बैठकले सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेपछि उपसभामुखले राजीनामा दिएकी हुन्।
यसअघि आफूलाई नै सभामुख नबनाएसम्म राजीनामा नदिने अडानमा रहेकी उपसभामुखसँग आइतबार प्रधानमन्त्री ओलीले छलफल गरेका थिए।

प्रधानमन्त्रीले राजीनामा दिएर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनु पर्छ। नेकपाले सभामुख आफूसँग राख्न उपसभामुखले राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्थामा उपसभामुखले राजीनामा दिएकी हुन्।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position